महिलालाई हरेक महिना तीन दिन महिनावारी विदा दिने तयारी

काठमाडौं, जेठ १० । स्पेनले महिनावारीको कडा दुखाइबाट पीडित महिलाहरूको लागि मेडिकल बिदा दिने योजना बनाएको छ । संसद्‍मा प्रस्ताव गरिएको वृहत् प्रजननसम्बन्धी विधेयकमा महिलाहरूलाई महिनामा तीन दिन बिदा दिन सक्ने उल्लेख छ ।

सञ्चार माध्यममा चुहावट भएको सो मस्यौदाबारे संसद्‍मा छलफल भइरहेको छ । विद्येयक पारित भएमा यस्तो प्रावधान कायम गर्ने स्पेन युरोपमै पहिलो देश हुनेछ ।

विश्वका केही थोरै देशहरूमा मात्र यस्तो कानुन छ । वृहत प्रजनन स्वास्थ्य सुधार र गर्भपतनसम्बन्धी विस्तार गर्दै पछिल्लो कानुन ल्याउन लागिएको हो ।

पीडादायी महिनावारी अवधिको लागि तीन दिनको बिरामी बिदा डाक्टरको सिफारिसमा अनुमति दिइनेछ । तीव्र वा असक्षम पीडाको लागि पाँच दिनसम्म विस्तार गर्न सकिनेछ ।

तर, हल्का पीडा भोग्नेहरूलाई यो नियम लागू हुने अपेक्षा गरिएको छैन । सो मस्यौदा महिनावारीलाई स्वास्थ्य अवस्थाको रूपमा व्यवहार गर्ने फराकिलो दृष्टिकोणको एउटा हिस्सा बताइएको स्पेनी अखबार एल पाइसले जनाएको छ ।

‘पीडा सहेर काममा जानुपर्ने दिनहरू सकिए ।’ स्पेनकी समानता मन्त्री इरेन मोन्टेरोलाई उद्धृत गर्दै युरोन्युजले जनाएको छ ।

प्रस्तावित मस्यौदामा बच्चा जन्माउनुअघि विस्तारित तलबी मातृत्व बिदा र गर्भपतन कानूनमा परिवर्तनहरू पनि समावेश छन् ।

त्यस्तै, १६ देखि १७ वर्षका किशोरीले अभिभावकको अनुमतिबिना गर्भपतन गर्न पाउने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्