बलात्कार आरोपित पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं, ९ जेष्ठ। सुन्दरी प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार पीडितको बयानपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो । पाण्डेविरुद्ध दुई जनाले किटानी जाहेरी दिएका छन् ।
गत बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत बलात्कारको घटनाबारे खुलासा गरेकी युवतीले मानवबेचिबखन तथा ओसारपसार ऐनविरुद्धको कसूरमा जाहेरी दिएकी छन् ।
आइतबार प्रहरी सम्पर्कमा पुगेकी अर्की नाबालिकाले बालबालिका ऐनविरुद्धको कसूर गरेको भन्दै जाहेरी दिएका छन् ।
मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक पाण्डेले उनलाई बानेश्वरको एभरेष्ट होटलमा बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले भिडियोमा खुलाएकी छन् ।
तर आफूमाथि भएको यौन हिंसाबारे कानुनी प्रक्रियामा जान उनले कसैबाट पनि सहयोग नपाएको कुरा व्यक्त गरिकी थियीन । प्रतियोगिताकी कोरियोग्राफरसमेत रहेकी पूर्वमिस नेपाल माल्भिका सुब्बाले समेत आफूलाई सहयोग नगरेको उनको गुनासो छ ।
सुब्बाले त्यसबेला सहयोग गर्न नसकेकोमा माफी पनि मागेकी छन् । प्रहरीले उनलाई पनि घटनाको साक्षीका रुपमा बयान लिने तयारी गरेको छ ।
उनले आफ्ना प्रेमीलाई पनि घटनबारे बताउँदै प्रहरीकहाँ जान सहयोग मागेकी थिइन् । तर ती प्रेमीले पनि साथ दिएनन्, त्यसपछि पनि जतिसँग सहयोगको अपेक्षा गर्दै नजिक भइन्, हरेकबाट हिंसामा परिन् । घटनाका कारण मानसिक समस्याबाट गुज्रिरहँदा उनी पीडा भुलाउन दुर्व्यसनमा पुगेको कुरा उल्लेख गरेका छन् ।
तिनै युवतीले हदम्यादका कारण जबरजस्ती करणी सम्बन्धी कसूरमा जाहेरी दर्ता गर्न नमिल्ने थाहा पाएपछि रुँदै अर्को भिडियो सन्देश सार्वजनिक गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘यो कस्तो नियम हो नेपालको रु एक वर्षभित्र रिपोर्ट गरेन भने फाइल नै लिंदैन रे, अदालतले ।’
उनको भिडियो सार्वजनिक भएपछि बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन भएको थियो ।
मुलुकका विभिन्न जिल्लामा पनि उनको न्यायका लागि प्रदर्शन भए । त्यसपछि कानून व्यवसायीहरुसँग छलफल गरेर प्रहरीले मानवबेचबिखन तथा ओसारपसारको कसूर अन्तरगत कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
उनलाई लठ्ठाएर बन्धक बनाएर पटकपटक जबरजस्ती करणी गरेको हुनाले मानवबेचबिखन गरेको ठहर हुने प्रहरी अधिकृतहरुको भनाइ छ । म्याद थप भइसकेपछि अब घटनामा विस्तृत अनुसन्धान हुने एसएसपी गिरीले बताए ।
प्रतिक्रिया दिनुहोस्