बालुवाटारमा बलात्कारविरुद्ध प्रदर्शन, कानुनी हदम्याद खारेजीको माग
काठमाडौँ , जेठ ६ । आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै बालुवाटारमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ ।
बलात्कारपीडितको न्यायको माग राख्दै युवाहरू प्रदर्शनमा उत्रिएका छन्। पीडितको न्याय र बलात्कार एवं यौनजन्य दुर्व्यवहारमा भएको कानुनी हदम्याद खारेजीको माग राख्दै युवाहरूले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका हुन्।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक भएसँगै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि बलात्कारविरुद्ध प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरूले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने‚ बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्न ‘फास्ट ट्र्याक’ अदालतको स्थापना गर्नुपर्नेलगायत माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले ‘बलात्कार पीडितलाई न्याय दे’‚ ‘दोषीलाई सजाय दे’ लगायत नारा लगाएका थिए । मुलुकी ऐनमा बलात्कारविरुद्ध उजुरी गर्न एकवर्षे हदम्याद तोकिएको छ ।
बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेसँगै उनको समर्थन र बलात्कारविरुद्धको प्रदर्शन भएको हो ।
प्रतिक्रिया दिनुहोस्