स्थानीय तह चुनावमा गठबन्धन सफल भयो : मन्त्री पौडेल
काठमाडौं , जेठ ५ । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ ।
यसैबीच यता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन् । बिहीबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आंशिक कमीकमजोरी भए पनि निर्वाचनमा गठबन्धन सफल भएको उनको भनाइ रहेको छ ।
‘गठबन्धन सफल भयो । आंशिक रुपमा भएका कमीकमजोरीहरुलाई हामी सच्याउँछौ, समीक्षा गर्छौं । गठबन्धनकै कारण उल्लेख्य रुपमा गठबन्धनको पक्षमा जनमत पनि प्रकट भएको छ,’ मन्त्री पौडेलले भने ।
उनले नेकपा माओवादी केन्द्र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको समेत बताए । संविधान र राजनीतिक प्रणाली अझै पनि खतरामा रहेको भन्दै उनले त्यसका लागि गठबन्धन आवश्यक रहेको बताए ।
मन्त्री पौडेलले कांग्रेसले माओवादी केन्द्रलाई भोट नहालेको भन्ने कुरा साँचो नभएको बताए । केही ठाउँमा त्यस्तो भए पनि सबै ठाउँमा नभएको उनको भनाइ छ । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र पहिलेभन्दा अझै सुदृढ भएको समेत पौडेलले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्