रोल्पाका ६ पालिकामा माओवादी, दुईमा कांग्रेस विजयी

काठमाडौं, जेठ ३ ।  रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ, भने गङ्गादेव र रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादीका सुरेन्द्र थापा घर्तीले ७६०३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर थापाले ३,६५८ मत प्राप्त गरेका थिए । उपप्रमुखमा माओवादीका गीता आचार्यले ७,७४१ मत प्राप्त गरी विजयी भए भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुष्पा श्रेष्ठले ३,७१९ मत प्राप्त गरेकी छन् ।

१० वटा वडा रहेको रोल्पा नगरपालिकामा माओवादीले नौ वटा वडामा जितेको छ । नगरपालिकाको एउटा वडा भने नेपाली कांग्रेसले जितेको छ । थवाङ गाउँपालिका माओवादी विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै माओवादीका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन ।

बुढाले २,१२२ मत पाउँदा रोकाको पक्षमा १,५०६ मत आएको थियो । उपाध्यक्षमा माओवादीका सर्मिला बुढामगर २,१२२ मत ल्याई विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १,४६८ मत प्राप्त गरेका छन् । थवाङमा नेकपा माओवादी केन्द्रविरुद्ध कांग्रेस-एमाले-स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।

त्यसैगरी परिवर्तन गाउँपालिकामा माओवादीका शुकबहादुर बुढामगर ३,३११ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वकुमार चन्दले ३,१३१ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादीका कलादेवी खत्रीनी ३,३८७ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सपना बुढामगरले २,३०८ मत प्राप्त गरिन् । सो गाउँपालिकामा कांग्रेस-एमाले-एकीकृत समाजवादी-स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।

रुन्टीगढी गाउँपालिकामा कांग्रेसका जनक पुनले ४३९१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोविन्द पुनले ३७०८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका सरिता केसी निर्वाचित भइन् । उनले ४,४३७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कौशिला घर्ती क्षेत्रीले ३,७०८ मत प्राप्त गरेकी छन् ।

माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अमरसिंह घर्तीमगरले ३,८३० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय घर्ती मगरले ३,३७१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका जयपुरी घर्तीमगरले ३,९६६ मत प्राप्त गरी विजयी भएकी छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत ल्याएका छन् । जिल्लामा १ नगरपालिकासहित ९ गाउँपालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्