धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो मतान्तर, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं, जेठ २ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहनुभएको छ ।

शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १० हजार ३२९ मत गणना भएको छ । जसमा हमालले ४ हजार ५३८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ४२८, नेकपा एमालेका रणबहादुर चन्दले ११४० मत प्राप्त भएको छ ।

मेयर पदमा खसेकामध्ये हालसम्म २ हजार ७९ मत बदर भएका छन् । हमाल र वडबीच २११० मतको अन्तर रहेको छ ।

यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार १३८, एमालेकी कन्दकला रानाले १ हजार ९३८ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार २५६ मत प्राप्त भएको छ ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो ।

प्रतिक्रिया दिनुहोस्