भरतपुरमा विवाद, मतगणना रोकियो

काठमाडौं,जेठ १ । चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ। मतपत्रमा लगाइएको स्वस्तिक छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले बदर गरेपछि विवाद उत्पन्न हुँदा मतगणना रोकिएको हो।

सूर्य चिह्नमा लगाइएको स्वस्तिक छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले मत बदर गरेका थिए। त्यसपछि एमालेले राज्य शक्तिको दुरुपयोग गर्दै एमालेलाई हराउन खोजेको आरोप लगाएको छ।

एमालेले उक्त मतपत्रलाई सदर नगरेसम्म मतगणनामा सहभागी नहुनेभन्दै बहिस्कार गर्ने चेतावनी दिएको छ। एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो।

भरतपुरमा ४ हजार ८ सय ७७ मत गणना भइसकेपछिको अवस्थामा विवाद भएको हो। भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन्। रेणुले १ हजार ७२७ मत प्राप्त गरी अग्रता बनाएकी छन्।

रेणुका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले १ हजार ६४७ मत ल्याएका छन्। नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ५७९ मत प्राप्त गरेका छन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १ हजार ८९५ मत प्राप्त गरी अग्रस्थानमा छन्। राप्रपाकी हिमला गुरुङले १ हजार ३३३ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्