स्थानीय चुनावः सुरुवाति परिणाममा स्वतन्त्र र बागीको दबदबा
काठमाडौँ , बैशाख ३१। देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको परिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ ।
तर, मतगणनाको सुरुवाति परिणाम हेर्दा केही महत्त्वपूर्ण स्थानीय तहमा बागी र स्वतन्त्र उम्मेदवारले पाएको परिणामले चुनावी परिणामलाई थप रोचक बनाएको छ ।
पार्टीमा टिकट नदिएको असन्तुष्टि र दलीय व्यवस्थाप्रतिको निराशालाई एजेन्डा बनाएका स्वतन्त्र उम्मेदवारले सुरुवाती परिणाममा सत्तारुढ गठबन्धन र अन्य दलका उम्मेदवारमाथि दबदबा बनाएका छन् ।
काठमाडौं, धनगढी, जनकपुर र बर्दिवाससहित नगरहरूमा स्वतन्त्र र बागी उम्मेदवारले पाएको मतले तरङ्ग सिर्जना गरेको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले निरन्तर अग्रता बनाएका छन् । अप्रत्याशित रूपमा बनेको उनको लोकप्रियताले दलहरूलाई चुनौती दिएको छ ।
उता सुदूरपश्चिमको राजधानी धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाति गणनामा दोब्बरभन्दा धेरै मतले अग्रता लिएका छन् ।
त्यस्तै, महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षेत्रीेले अग्रता बनाएका छन् । यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पछ्याइरहेका छन् ।
स्वतन्त्र उम्मेदवारबाहेक बागी उम्मेदवारहरूले समेत कतिपय ठाउँमा अग्रता लिएका छन् । जनकपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह सुडीले दोब्बरभन्दा धेरै मतले अग्रता लिएका छन् ।
कांग्रेसको उपमहानगर सभापति रहेका उनी सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा मेयर पद कांग्रेसले नपाएपछि राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार विदुरबहादुर बस्नेतले अग्रता लिएका छन् । गठबन्धन दलबीच चुनावी तालमेल गर्दा मेयर पद नेकपा एकीकृत समाजवादीको भागमा परेपछि बस्नेतले असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएका थिए । सुरुवाती गणनामा बस्नेतले निरन्तर अग्रता बनाएका छन् ।















प्रतिक्रिया दिनुहोस्