निर्धक्क भई मतदान गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ, बैशाख ३० ।  राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न आह्वान गरेकी छन् । निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको स्मरण राष्ट्रपति भण्डारीेले सन्देशमार्फत गराएकी छन् ।

त्यसकारण स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण बनाउनु सबैको दायित्व भएको राष्ट्रपतिको भनाइ छ । उनले समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घरदैलोसम्म पुर्‍याउने विशेष अवसरका रूपमा निर्वाचनलाई ग्रहण गर्नुपर्ने बताएकी छन् । ‘लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु हो’, राष्ट्रपतिले भनेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा निर्धक्कसँग आफ्नो मताधिकार प्रयोग गर्न देशवासीलाई अपिल गरेका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

‘बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो’, प्रधानमन्त्रीले अपिलमा भनेका छन्, ‘स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्‍याउन म सबैमा आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्