आज स्थानीय निर्वाचन : एक लाख ४५ हजार उम्मेदवार प्रतिष्पर्धामा
काठमाडौं , बैशाख ३० । देशभरका स्थानीय तहमा जनप्रतिनिधि छान्नका लागि आज (शुक्रबार) मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म आफ्नो नाम भएको मतदान केन्द्रमा गएर मतदान गर्न पाइनेछ ।
मतदान ७ बजे शुरु हुने भए पनि धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाता पुग्ने क्रम शुरु भइसकेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि आज चुनाव हुन लागेको हो । चुनावमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकामा पुरुष मतदाताको संख्या ८९ लाख ९२ हजार १० र महिला मतदाताको संख्या भने ८७ लाख ४१ हजार ५३० छ ।
मेयरमा ७५३, उपमेयरमा ७५३, वडाध्यक्षमा ६ हजार ७४३, महिला र दलित महिला सदस्यमा ६ हजार ७४३ तथा खुला सदस्यमा १३ हजार ४८६ गरी ३५ हजार २२१ पदको लागि मतदान हुन लागेको हो । चुनावमा कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार छन् । जसमा पुरुष उम्मेदवारको संख्या ८९ हजार ३१३ र महिला उम्मेदवारको संख्या ५५ हजार ६९८ छ । अहिलेसम्म ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
पालिका चुनावका लागि ७९ दल निर्वाचन आयोगमा दर्ता भएकोमा ६५ दलले मनोनयन दर्ता गराएका छन् भने १४ दलले एउटा पनि मनोनयन दर्ता गराएका छैनन् । प्रदेश(१ मा एक महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका तथा ८८ गाउँपालिका गरी जम्मा १३७ पालिका रहेका छन् । १३७ पालिकामा एक हजार १५७ वडा रहेका छन् । ३३ लाख ४७ हजार ३८४ मतदाता रहेको प्रदेश(१ मा एक हजार ८७७ मतदान स्थल रहेका छन् भने ४ हजार ५१ कुल मतदान केन्द्र रहेका छन् ।
मधेस प्रदेशमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका तथा ५९ गाउँपालिका गरी कुल एक सय ३६ पालिका रहेका छन् । कुल वडा एक हजार २७१ वडा रहेको मधेस प्रदेशमा ३३ लाख ३१ हजार एक सय ७० मतदाता रहेको मधेस प्रदेशमा २ हजार १६३ मतदान स्थल छन् भने ४ हजार १ सय ८९ कतदान केन्द्र रहेका छन् ।
वाग्मती प्रदेशमा एक सय १९ पालिका रहेकोमा ३ महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका तथा ७४ गाउँपालिका रहेका छन् । जसमा १ हजार १२१ वडा छन् । कुल मतदाता ३४ लाख १२ हजार ८६९ मतदाता रहेको वाग्मती प्रदेशमा १ हजार ७९२ मतदान केन्द्रमा ४ हजार ९५ मतदान केन्द्र रहेका छन् ।
गण्डकी प्रदेशमा ८५ पालिका रहेकोमा एक महानगरपालिका, २६ नगरपालिका, तथा ५८ गाउँपालिका रहेका छन् । कुल ७५९ वडा रहेको गण्डकी प्रदेशमा मतदाताको सङ्ख्या भने १७ लाख ८९ हजार ४११ रहेको छ । जसमा १ हजार २५३ मतदान स्थल छ भने २ हजार ३ सय मतदान केन्द्र रहेका छन् ।
लुम्बिनी प्रदेशमा १०९ पालिका रहेका छन् । जसमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका तथा ७३ गाउँपालिका रहेका छन् । त्यसमा ९८३ वडाहरु छन् भने कुल मतदाता ३२ लाख १९ हजार ४५७ छन् । १ हजार ६२९ मतदान स्थल रहेको लुम्बिनीमा ३ हजार ८ सय ३२ मतदान केन्द्र रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्