टेकअफ हुन लाग्दा रनवेबाहिर गएको जहाजमा लाग्यो आगो

काठमाडौं, बैशाख २९ । टेकअफ हुन लाग्दा रनवेबाहिर गएको जहाजमा आगो लागेको छ ।

यो खबर चीनको हो । तिब्बत एयरलाइन्सको एउटा जहाजमा बिहीबार आगो लागेको हो । दक्षिण पश्चिमी सहर चोङकिङको विमानस्थलबाट बिहीबार बिहान एयरबस ए ३१९ जहाजमा टेकअफ गर्न लाग्दा समस्या आएको थियो।

समस्या देखिएपछि चालकले जहाजलाई टेकअफ हुनबाट रोकेका थिए। स्थानीय समयअनुसार बिहान आठ बजे जहाजमा आगलागी भएको चोङकिङ जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थललाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ। जहाज रनवेबाट बाहिर निस्किएपछि आगलागी भएको थियो।

जहाजमा ११३ यात्रु र नौ जना चालक दलका सदस्य थिए। चीनको नागरिक उड्डयन प्रशासनले ३६ जनालाई सामान्य चोटपटक लागेको र उपचारका लागि स्थानीय अस्पताल लगिएको बताएको छ।

तिब्बत एयरलाइन्स ल्हासामा आधारित क्षेत्रीय एयरलाइन्स हो। एयरफिल्ट डट नेटका अनुसार यो एयरलाइन्समा २८ ए ३१९ सहित ३९ वटा विमान छन्।

चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटना भएको दुई महिना नपुग्दै यो घटना भएको हो।

फाइल तस्बिर 

प्रतिक्रिया दिनुहोस्