स्थानीय तह निर्वाचन:  मौन अवधिमा उपत्यकाबाट बाहिरिए १ लाख ४२ हजार यात्रु

काठमाडौं बैशाख २९ । स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ ।

मौन अवधिको समयमा मात्र एक लाख ४२ हजार ७४१ जना यात्रुले काठमाडौ उपत्यका छोडेका छन् ।

मौन अवधि सुरूदेखि बिहीबार बिहानसम्मको अवधिमा काठमाडौं उपत्यकाबाट १८ हजार सवारी साधनमा उक्त संख्यामा मतदाताहरू बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो चौविस घण्टामा मात्रै ८३ हजार ६६० जना यात्रु बाहिरिएका छन् । त्यो अवधिमा ३५ हजार ६५७ जना यात्रु भने काठमाडौं भित्रिएका छन् ।

यसअघि २७ वैशाखमा ५९ हजार ८१ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए । त्यो अवधिमा भने ४२ हजार ८३२ जना काठमाडौं उपत्यका भित्रिएका थिए ।

२६ वैशाखमा ५० हजार ९३० जना यात्रु बाहिरिएका थिए । त्यस्तै २५ वैशाखमा ५५ हजार ७४६ जना यात्रुले काठमाडौं छोडेका थिए ।

भोलि मतदानको दिन पास बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । त्यसैले बिहीबार रातिसम्म पनि यात्रुहरू काठमाडौंबाट बाहिरिने क्रम जारी रहने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्