निर्वाचनका दिन पानी पर्ने , मौसमविदले भने- ओत बोकेर भोट हाल्न जानु होला
काठमाडौं, बैशाख २८ । स्थानीय तहको निर्वाचनको दिन वैशाख ३० गते देशका एकाध स्थानहरुमा मात्रै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ३० गते दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा सामान्य बदलीको सम्भावना छ।
त्यस्तै अन्य प्रदेशमा पनि ठूलो वर्षा हुने सम्भावना निकै कम छ। अधिकांश ठाउँमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। निर्वाचनका दिन प्रदेश १ र बागमती प्रदेशका एकाध स्थानहरुमा मात्रै मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल मौसमी वायु कमजोर हँुदै गइरहेकोले मेघ गर्जन र चटयाङ्ग सहित वर्षा हुने सम्भावना निकै कम रहने महाशाले जनाएको छ।
महाशाखाका अनुसार बिहिबारदेखि देशभरको मौसममा थप सुधार हुने सम्भावना देखिएको छ । सो दिन राती प्रदेश १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ।
त्यस्तै, गण्डकी प्रदेशका एक÷दुई स्थानहरूमा पनि मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए। उनका अनुसार मतदानको दिन चर्को घाम पनि लाग्ने छैन र पानी पर्ने सम्भावना पनि न्युन छ। उनले मौसममा क्रमिक सुधार भइरहेकोले ३० गते मौसम थप सहज हुनसक्ने सम्भावना समेत देखिएको बताए।
‘निर्वाचनका दिन धेरै पानी पनि पर्दैन र धेरै गर्मी पनि हुँनेछ्रैन,’ पौडेलले भने, ‘तर, केहि प्रदेशमा पानी पर्नसक्ने सम्भावना देखिएकोले हामीले निर्वाचन आयोगलाई तयारी अवस्थामा रहन पनि आग्रह गरेका छौं।’ मौसमविद् पौडेलले पानी पर्ने क्षेत्रहरुका मतदानस्थलमा त्रिपालको व्यवस्था गर्न आग्रह गरिएको जानकारी दिए। उनले भोट हाल्न जादा ओत बोकेर जान आग्रह गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्