बुटवलमा मेयर उम्मेदवारकी श्रीमती प्रहरी नियन्त्रणमा, मतदातालाई पैसा बाँडेको आरोप

काठमाडौं, बैशाख २८ । मौन अवधिमा मतदाता प्रभावित पार्ने कार्यमा संलग्न भएको आरोपमा बुटवलमा मेयर पदका उम्मेदवारकी श्रीमतीलाई स्थानीयले नियन्त्रणमा लिएका छन्।

बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई सुकुम्बासी बस्तीमा मतदाता प्रभावित गर्न पुगेको भन्दै स्थानीयले नियन्त्रणमा लिएका हुन्।

दिउँसो दुई बजेतिर बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी बस्तीमा पैसा बाँड्न आएको सूचना थाहा पाएपछि स्थानीयले भट्टराईलाई कब्जा गरेका थिए।

सुकुम्बासी बस्तीको सिर्जना भुसालको घरमा थुनेर राखेको अवस्थामा सशस्त्र र जनपथ प्रहरीले उद्धार गरी इलाका प्रहरी कार्यालय बुटवलमा लगिएको छ।

मेयर पदको उम्मेदवारकी श्रीमती मौन अवधिमा सुकुम्बासी बस्तीमा शंकास्पद अवस्थामा भेटिएको प्रहरीले पनि पुष्टि गरेको छ। मौन अवधिमा मत माग्न र मतदाता प्रभावित पार्न पाइँदैन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले घटनाबारे विस्तृत विवरण नआएको बताए।

प्रतिक्रिया दिनुहोस्