चुनावी रौनक, ४ दिनमा करिब २ लाख २० हजारभन्दा बढीले काठमाडौं छाडे

काठमाडौँ, बैशाख २८ । पछिल्ला ४ दिनमा मात्रै करिब २ लाख २० हजारभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै काठमाडौं उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै गर्दा बाहिरिने यात्रुको संख्या भने ह्वात्तै बढेको छ ।

हिजो २७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौं छाडेका छन् । २६ वैशाखमा यो संख्या ५० हजार ९३० थियो भने २५ गते ५५ हजार ७४६ जनाले काठमाडौं छाडेका थिए । २४ गते ५३ हजार व्यक्तिले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उपत्यका भित्रिने यात्रुको संख्या भने केही दिन यता सामान्य अवस्थाको भन्दा कम रहेको महाशाखाले जानकारी दिएको छ । बुधबार भने बाहिरिनेको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

बुधबार नाकाहरुमा यात्रुको चाप उच्च छ । उपत्यका छाड्ने बसहरुमा पनि कोचाकोच गरेर यात्रुहरु घर फर्किएका छन् । काठमाडौंमै स्थायी बसोबास गरिरहेकाहरु पनि भोट हाल्न गाउँ फर्किंदैछन् । भोलिसम्म नै सवारीका यात्रुको चाप उच्च हुने अनुमान ट्राफिक प्रहरी महाशाखाको छ ।

आन्तरिक उडानमा पनि यात्रुहरुको चाप

बसपार्कमा मात्रै नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आन्तरिक उडानमा पनि यात्रुहरुको चाप बढेको छ ।बिभिन्न जिल्लाबाट कामको सिलसिलामा काठमाडौं आएर बसेकाहरुको मतदाता नामावली आफ्नो स्थानीय तहमा भएका कारण भोट हाल्न उनीहरु गाउँ फर्किन लागेका हुन् ।

त्यस्तै कतिपय स्थायी रुपमै काठमाडौं उपत्यकामानै बसोबास गर्ने भएता पनि उनीहरुको मतदाता नामावली गाउँमै रहेका कारण मत खसाल्न उपत्यका छोड्न लागेका हुन् । सरकारले स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा दिएको छ भने त्यसपछिका तीन दिन निरन्तर बिदा परेका छन् ।

निर्वाचनको भोलीपल्ट शनिबार परेको छ । त्यस्तै जेठ १ गते आइतबार परेको छ भने जेठ २ गते बुद्ध जयन्ती परेको छ । सरकारले जेठ १ गतेबाट लागू हुनेगरी हप्तामा २ दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । त्यसकारण निर्वाचनको दिनलाई समेत जोड्दा ४ दिन सार्वजनिक बिदा परेको छ । ४ दिन बिदा परेकाले पनि उपत्यका छोड्नेहरुको संख्या बढेको हो ।

प्रतिक्रिया दिनुहोस्