मतदान गर्न गाउँ जानेको लर्को , चुनावले गाउँ बोलायो

काठमाडौं, बैशाख २८ । स्थानीय तहको निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्न थालेको छ ।

विभिन्न जिल्लाबाट उपत्यकामा बसोवास गर्दै आइरहेका मतदाता निर्वाचनमा भाग लिन जानेको संख्या बढिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।काठमाडौं उपत्यकासहित शहरमा अस्थायी बसोबास गर्दै आएकाहरू मतदानका लागि गाउँघर हिँडन थालेका छन् ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ हजार सात सय ८८ वटा सवारीसाधनबाट ५० हजार नौ सय बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीवकुमार दासले बताए ।‘यो संख्या अझै बढ्ने उनको भनाइ
रहेको छ । शुक्रबारदेखि उपत्यकाबाट सवारीसाधनमा चाप बढ्न थालेको पनि उनले बताए ।

त्यस्तै, यातायात व्यवसायी महासंघले चुनावका कारण गत शुक्रबारदेखि नै सवारीसाधनको चाप अत्यधिक बढेको जनाएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहीबारसम्म ( चुनावको अघिल्लो दिन) उपत्यकाबाट बाहिरिनेको संख्या १२ देखि १३ लाखसम्म पुग्ने अनुमान रहेको बताए ।

आफ्नो गाउँको नेतृत्व चयन गर्न मतदाताहरू बिस्तारै गाउँकेन्द्रित भइरहेका छन् । सहरबाट गाउँ र विदेशबाट स्वदेश फर्किनेको लर्को नै लागेको छ ।

काठमाडौंबाट विभिन्न नाका हुँदै गाउँ जाने यात्रुहरूको संख्या पनि ह्वात्तै बढेको छ। चुनाव आउन अब २ दिन मात्रै बाँकी छ । विद्यालय बन्द हुनुका साथै मतदानका दिन सार्वजनिक बिदा परेपछि आममतदाता थातथलो लागेका हुन् । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन यात्रुले कोचाकोच हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्