बाबुरामको गृहनगरमा एमाले–जसपाबीच तालमेल

काठमाडौं,  बैशाख २७ ।  सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले गोरखामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग चुनावी तालमेल गरेको छ । पालुङटार नगरपालिकामा जसपा र एमालेबीच तालमेल भएको हो ।

पालुङटार जसपाको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर हो । मंगलबार जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्ट र एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङबीच तालमेलको सहमति भएको हो ।

सहमतिअनुसार यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नगर प्रमुख पदमा एमालेले जसपालाई सहयोग गर्नेछ । उपप्रमुख पदमा जसपाले एमाले उमेदवारलाई सहयोग गर्ने सहमति भएको छ ।

यस्तै, पालुङटारको वडा नम्बर–६, ७ र १० मा एमाले र वडा नम्बर–४ र ५ मा जसपालाई सघाउने सहमति गरिएको छ । जिल्लाका अरू पालिकाहरू र वडाहरूमा आपसमा सहमति गरी निर्वाचनमा जाने निर्णय भएको छ ।

यसअघि, पालुङटारमा जसपाले नेपाली कांग्रेससँग तालमेल गर्न खोजेको थियो । जसपाले नगर प्रमुख पद मागेको थियो । तर, कांग्रेस छोड्न तयार भएन । प्रमुख पद जसपालाई छोड्न सभापति शेरबहादुर देउवाले पनि प्रयास गरेका थिए । तर, सफल हुन नसक्दा जसपाले अन्त्यमा एमालेसँग तालमेल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्