नेपाललाई आधुनिक युगमा पुर्‍याउने एमाले हो: अध्यक्ष ओली

काठमाडौं, बैशाख २७ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलबार बिहान एमालेले आयोजना गरेको स्थानीय निर्वाचन लक्षित वृहत् चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाललाई आधुनिक युगमा पु¥याउने जिम्मा एमालेको भएको बताए ।

‘नेपाललाई आधुनिक युगमा प्रवेश गराउने एमाले हो । आत्मनिर्भर अर्थतन्त्र, उत्पादन वृद्धि, उद्योग धन्दा सञ्चालन, कृषिको आधुनिकीकरण लगायतका सबै काम एमालेकै नेतृत्वमा हुन्छ,’ उनले भने, ‘कोही पनि अलमलमा नपरीकन समृद्ध नेपाल र सुखी नेपालीको साझा मुद्दालाई स्थापित गराउने अभियानमा होमिनुपर्छ । युवाहरूलाई विदेश पठाउने हैन, मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।’ ओलीले उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने प्रयास एमाले नेतृत्वको सरकारले गरेको पनि बताए ।

‘अबको स्थानीय निर्वाचनमा एमालेलाई जिताउनुस् । एमालेका जनप्रतिनिधिले गाउँ, सहर र नगर बनाउने जिम्मा लिएका छन् । एमालेले जनतासँग मुलुक बनाउने बाचा गरेको छ,’ उनले भने । उनले अहिले सबैभन्दा बढी नेपाली काँग्रेसका कार्यकर्तालाई परिरहेको बताए ।

उनले भने, ‘पोखरा जाउँ, भरतपुर जाउँ तर रुखमा भोट हाल्ने ठाउँ नै छैन । मेरी छोरीलाई भोट हालेनौ भने मुलुकमा दुर्घटना हुन्छ भनेर जनतालाई धम्क्याइँदै छ । काँग्रेसले रुखमा भोट हाल्ने कष्ट कहिल्यै गर्नु नपर्ने भयो । आज छोरी जिताउनुपर्छ । भोलि भाइ, भतिजा र अरूको जिम्मा लिनुपर्छ ।’ उनले एमालेका उम्मेदवार जिताउने जिम्मा जनताको र मुलुकको विकास गर्ने जिम्मा एमालेको भएको पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्