श्रीलंकामा संकट: हिंसामा सांसदसहित ७ जनाको मृत्यु, मन्त्रीसहित दुई दर्जन नेताका घर जलाइए

काठमाडौँ , बैशाख २७ । श्रीलंकाको आर्थिक संकटसँगको असन्तुष्टिले अब गृहयुद्ध निम्त्याउने त होइन भन्ने आशंका बढेको छ । सोमबार विपक्षी दलको दबाबमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका थिए ।

उनको राजीनामाबाट असन्तुष्ट समर्थकहरूले राजधानी कोलम्बोमा हिंसात्मक घटनाहरू गरेका थिए । त्यसपछि उनका विपक्षीहरु पनि आक्रोशित भए ।

श्रीलंकामा सोमबार भएका हिंसामा एक सांसदसहित ७ जनाको मृत्यु भएको र २३१ जना घाइते भएका छन् ।

जब राजापाक्षेका समर्थकहरूले कोलम्बो छोड्ने प्रयास गरे, उनीहरुको सवारी साधनलाई विभिन्न स्थानमा निशाना बनाइएको थियो । अर्कोतर्फ, प्रदर्शनकारीले हम्बनटोटामा महिन्दा राजापाक्षेको पुर्खाको घरमा आगजनी गरेका छन् । त्यही क्रममा राजधानी कोलम्बोमा पूर्वमन्त्री जोन्सन फर्नान्डोलाई कारसहित तालमा फालिदिएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार सोमबार हजारौं प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवास ‘टेम्पल ट्री’ को मुख्य गेट तोडेर यहाँ पार्क गरिएको ट्रकमा आगजनी गरेका थिए । त्यसपछि निवासभित्र पनि गोली चलाइएको थियो । आन्दोलित भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको थियो ।

प्रदर्शनकारीहरुले महिन्दा राजापाक्षेको पुर्खौली घरसहित १२ जना पुर्वमन्त्रीको घरमा आगलागी गरेका छन् । त्यस्तै १४ जना सांसदसहित अन्य दर्जनौं नेताहरुको घरमा आगजनी भएको श्रीलंकाका स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

श्रीलंकाको सन् १९९६ को विश्वकप विजेता टोलीका कप्तान अर्जुन रानातुङ्गाले प्रधानमन्त्री निवासमा भएको हिंसाको लागि श्रीलंका पोदुजाना पेरामुना पार्टीलाई दोष दिएका छन् । रणतुङ्गाले भने कि यो एसएलपीपी थियो जसले मानिसहरूको हिंसात्मक भीडलाई भेला गरेको थियो ।

अघिल्लो दिन श्रीलंकाका सांसद अमरकिर्थी अथुकोर्लाको निधनको खबर पनि बाहिर आएको थियो । रिपोर्टहरूका अनुसार अमरकीर्तिले प्रदर्शनकारीहरूमाथि गोली चलाए र पछि भीडबाट बच्न भवनमा लुके। यहीँबाट उनको शव भेटिएको हो । यद्यपि उनको मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।

खस्कँदै गएको आर्थिक अवस्थालाई मध्यनजर गर्दै शुक्रबार सर्वसाधारणले संसद भवनमा हिंसात्मक प्रदर्शन गरेका छन् । त्यसपछि राष्ट्रपति गोताबाया राजापाक्षेले पुनः संकटकालको घोषणा गरेका थिए । एक महिनापछि श्रीलंकामा संकटकाल लगाइएको छ । यसअघि १ अप्रिलमा पनि संकटकाल लगाइएको थियो, जुन ६ अप्रिलमा हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्