यो वडाको विकास गरेकाले म जित्नेमा ढुक्कछुः उम्मेद्वार श्रेष्ठ ( अन्तर्वार्ता )

काठमाडौं, बैशाख २६  । स्थानीय तहको निर्वाचन हुन अब चार दिन मात्र बाँकी छ । सबै राजनीतिक दल र उम्मेद्वारहरु यतिबेला चुनावी प्रचारमा व्यस्त रहेका छन् । शहर भन्दा गाउँघरमा चुनावी माहोल निकै तातेको छ । राजनीतिक दल र उम्मेद्वारहरुले घरदैलो अभियान नै चलाएर भोट मागीरहेका छन् ।  यसैबीच धादिङ्ग निलकण्ठ वडा नं ११ का अध्यक्ष पदका उम्मेद्वार राम बहादुर श्रेष्ठसंग स्थानीय तहको निर्वाचनको अवस्था र आगामी नेतृत्वको विषयमा केन्द्रीत रहेर हामीले कुराकानी गरेका छौं । नेपाली कांग्रेसमा रहेर विगत २ वर्षदेखि निरन्तर जनताको सेवामा लागी रहेका श्रेष्ठ सबैको मन जित्न पनि सफल भएका छन्। श्रेष्ठ एक निष्ठावान नेता मानिन्छन् । बाँकी उहाँसंग गरिएको कुराकानी 

चुनावको प्रचार–प्रसार कार्यलाई कसरी अगाडि बढाइरहनु भएको छ ?

यसका लागि हामीले एउटा टिम बनाएकाछौ, यहि टिमलाई परिचालन गरेकाछौ, प्रत्येकको घरदैलोमा गएर मतदातालाई भोट हाल्न सिकाउनदेखि लिएर रुख चिन्हमा भोट हालेर जिताउन भन्दै भोट मागि रहेकाछौं, बिहानदेखि साँझसम्मको कार्यक्रम तालिका बनाएर प्रचार–प्रसार कार्य भईरहेको छ । साथै टोलस्तरीय भेला तथा छलफल गर्ने र मत माग्ने काम पनि गरिरहेका छौं । विकास हामी गर्छौ भन्दै अगाडि बढिरहेकाछौं ।

पहिले पनि वडामा उम्मेदारी दिनुभएको थियो तर विजय हुन सक्नु भएन, अब चाहि विजय हुन्छु भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?

यस पालि म विजय हुन्छु किन कि कोरोनाकालमा मैलै औषधिउपचार लगाएत अन्य कार्यमा राम्रो गरेको छु। हार्दा पनि यो वडामा बढि विकास बजेट मैले नै  ल्याएकोछु । त्यसले गर्दा साथि भाइहरु मेरो पक्षमा छन् म जित्नेमा ढुक्कछु ।

अनि के के विकास गर्नु भो ?

बाटो नपुगेको ठाउँमा बाटो बनाएकोछु, खानेपानी नभएको ठाउामा खानेपानी पुगाएको छु , युवाहरुका लागि फुटबलग्राउन्ड बनाएकोछु । यस कारण मेरो जित्ने आधार तय भएको जस्तो मलाई लाग्छ ।

वडाअध्यक्षमा चुनाव लड्दै गर्दा आगामी ५ वर्षमा के कस्ता कार्यक्रमहरुको एजेण्डा अगाडि सार्नु भएको छ ?

ग्रामीण भेगमा बाह्रै महिना सडक चल्ने बनाउने मुख्य एजेण्डा छ ,अनि सडक कालोपत्रे गर्ने, त्यो हामी गरेर देखाउनेछौं, अरु सानोतीनो कुरा तत्काल पुरा गर्ने , अनि जनताको समस्या आफ्नो समस्या सम्झेर काम गर्ने अठोट गरेका छौं । प्रत्येक दुई सय मिटरको फरकमा वडाभरि नै क्रमशः सडक बत्ति जडान गरिनेछ । वृद्ध भत्ता लगाएत सबै प्रकारका सामाजिक सुरक्षा भत्ताहरु घरघरमा गएर वितरण , गर्भवती महिलालाई सुत्केरी गराउन अस्पताल सम्म जाने निशुल्क एमबुलेन्सको व्यवस्था लगायतका २० ओटा बुँदाहरु उल्लेख गर्दै एजेण्डा अगाडि सारेका छौं । त्यसै गरि महिला लक्षित तालीमहरुका एजेण्डा पनि समेटेका छौ । प्राकृतिक स्रोत साधनको प्रयोग, संरक्षण र दिर्घकालीन विकासमा जोड दिएको छ। दिर्घ रोगी/अपाङ्ग र ७० वर्ष कटेका जेष्ठनागरिकहरुलाई आवश्यक समयमा घरमै गएर स्वास्थ्य सेवा दिइने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।

वडाको समस्या अहिले के के छ र समस्याको समाधानको निम्ति के के एजेण्डा लिएर आउनु भएको छ ?

प्रमुख समस्या भनेको बाटो सडक नै हो , अनि खानेपानी , एक घर एक धारा भन्ने नारा थियो यो अझै पनि पुरा हुन सकेको छैन,यसलाई प्राथमीकताका साथ अगाडि बढाउछौं, अर्को शिक्षा क्षेत्र , त्यसैगरि गुठी जग्गाको समस्या पनि छ , त्यो जुन समस्या छ त्यसलाइ बुलन्द रुपमा आवाज उठाएर हिजो गरेको प्रतिबद्धतालाई आज पनि निरन्तरता दिनेछु । यो वडालाई थप व्यवस्थित बनाउने हाम्रो योजना रहेको छ । विद्युती वितरणमा पनि समस्या छ यसका लागि हामीले काठका खम्बा व्यवस्थापन गरि वडाभरि नै विद्युत वितरणमा पनि प्राथमीकता दिएका छौ । आवश्यक ठाउँमा ट«ान्समिटर जडान गरिनेछ , त्यसैगरि सबै वैकल्पिक उर्जालाई प्राथमीकता दिइनेछ ।

प्रतिबद्धतापत्रमा विकासका कुराहरु के के छन , यहाँका अन्य एजेण्डाहरु ?

विकासका कुराहरु त धेरै छन् सिफारिसका कुराहरु छन्, वडावासीले पाउने जति पनि सुविधा छ त्यो पाउनुपर्छ भन्ने छ । अधिकारका कुराहरु छन् , समस्या समाधानका कुरा छन् , हाम्रो प्रतिबद्धतापत्रमा २० ओटा बुँदाहरु उल्लेख गरेकाछौं त्यहि योजना अनुसार अगाडि बढनेछौं

अन्य पार्टीको प्रतिबद्धतापत्रमा त पर्यटन विकास, कृर्षिको विकास लगाएत छन् तपाइको मा छ कि छैन ?

ज्यामरुङ ११ मा सबै कृषि पेसामा आधारित छन् , आधारित हुदाहुदै पनि यहा सिचाइको अभाव छ। यस कारण कुनै पनि स्रोत साधान जुटाएर यहाँको कृषि क्षेत्रलाई अगाढि बढाउनेछ , सिचाई योजना अगी सार्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख गरेका छौ, पर्यटन विकासका लागि पनि हामीले एजेण्डा अगाडि सारेका छौं त्यसलाई पनि अगाडि लैजानेछौं । हिउँदे सिचाइका लागि सिम्लेमा आँखुखोलाबाट धमलाज्यामरुङमा आसीखोलाबाट र थापागाउँमा मखोलाबाट लीफ्टीङ सिचाई गरि नगदे बालीलाई प्राथमीकता दिएको छ ।

कति वर्षमा पुरा गर्न सकिन्छ यो एजेण्डा ?

सुरुवात हामी गर्छौ , स्रोत साधान भएको खण्डमा तुरुन्त पुगाउछौ नभए ५ वर्ष कार्यकालमा पुरा गर्ने हाम्रो प्रतिबद्धता हो ।

त्यसो भए तपाई अब यो एजेण्डासहित सफलता हासिल गर्ने सम्भावना बलियो छ ?

एकदम त्यसमा हामी ढुक्क छौं ।

प्रतिक्रिया दिनुहोस्