“अर्जुनधारावासीको सेवा गर्ने एक पटक अवसर मागेकी हुँ” : मेयरकी उम्मेदवार कार्की
झापा । झापाको अर्जुनधारा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवारी दिएकी रन्जिता कार्कीले नगरको विकासका लागि आफ्ना योजना सार्वजनिक गरेकी छिन् ।
पार्टीको १ नम्बर प्रदेशकी कार्य समिति सदस्यसमेत रहेकी अधिवक्ता कार्कीले सबैको भावनाको सम्बोधन हुने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । अधिवक्ता भएर काम गरिरहँदा पनि उनले गरेको सेवालाई स्थानीयले अझै र सधैं सम्झिइरहेका छन् । उनी काठमाडौं जिल्ला अदालत वार एसोसियशनको सह–सचिव पनि हुन् । उनले कानुनी रुपमा धेरैलाई निःशुल्क परामर्श दिँदै आएकी छिन् । राजनीतिलाई समाजसेवा ठान्ने उनी अरुको हित हुने काम गर्न पाइन् भने सन्तुष्ट हुन्छिन् । चुनाव प्रचार प्रसारको क्रममा गाउँघरमै रहेकी उनले आफ्नो पक्षमा राम्रो जनमत भएको बताएकी छिन् । ‘म सबै मतदाताको घरमा पुगेर आफ्ना कुरा राख्दैछु, उहाँहरुले मेरा योजनालाई समर्थन गर्नुभयो’ उनले भनिन् ‘ मैले अनावश्यक गफ गरेको छैन, जे गर्न सक्छु त्यहीमात्र भनेकी छु र बोलेको कुरा पूरा गरेरै छाड्छु ।’ उनी अरु पार्टीको जस्तो भ्रमको खेती गर्न नजानेको बताउँछिन् । ‘हाम्रो अर्जुनधारा ऐतिहासिक रुपले पनि सवल र सक्षम छ, यसलाई विश्वसामु चिनाउने मेरो योजना हो’ उनले थपिन् ‘मैले एक पटक अवसर खोजेको हुँ, त्यो मेरो लागि होइन नगरवासीको हितमा केन्द्रित गर्ने छु ।’
उनले खानेपानी तथा सरसफाई, विद्युत्, शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, सूचना तथा सञ्चार, सुरक्षासम्बन्धी महत्वपूर्ण योजना अघि सारेकी छिन् । त्यतिमात्र हाृेइन उनको प्रतिबद्धतापत्रमा फोहोर व्यवस्थापन, खेलकुदका साथै राजश्व तथा वित्तीय व्यवस्थापनका कुरासँगै जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिका विषय पनि समेटिएका छन् । आफूसँग राम्रो टिम भएकाले पनि नगरवासीले पत्याएको उनको दाबी छ । ‘केही गर्छु भन्ने सोच छ मसँग त्यसमा नगरवासीले सहयोग गर्नुहुन्छ भन्ने लाग्छ’ उनले भनिन् ‘मैले मत मागिरहँदा उहाँहरुले गरेका गुनासा सबै टिपेको छु, प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने छु ।
प्रतिक्रिया दिनुहोस्