फिल्डमा म्यादीः मधेस प्रदेशमा धेरै, काठमाडौंमा कम

काठमाडौं , बैशाख १७  । सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशिलताका आधारमा फिल्डमा खटाएको छ । प्रहरी प्रधान कार्यालयले मतदानस्थलको संवेदनशीलताका आधारमा संख्या बाँडफाँट गरेर ७ प्रदेश र उपत्यकामा फरक–फरक संख्यामा म्यादी प्रहरी परिचालन गरेको हो ।

सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । सात प्रदेश र काठमाडौं उपत्यकाका तीन जिल्लालाई फरकफरक संख्या बाँडफाँट गरेर स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीलाई फिल्डमा खटाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए ।

सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशका आठ जिल्लामा खटाइएको छ । सो प्रदेशमा २१ हजार म्यादी खटाइएको छ ।यसैगरी, सबैभन्दा कम संख्यामा काठमाडौं उपत्यकाका तीन जिल्लामा म्यादी प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ४ हजार ७ सय ११ जना म्यादी प्रहरी खटाइएको हो । निर्वाचनमा सुरक्षा संवेदनशीलताको विश्लेषण गरेर संख्या निर्धारण गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैगरी, प्रदेश १ का १४ जिल्लामा १७ हजार ४ सय २१ जना खटाइएको छ भने बाग्मती प्रदेशका काठमाडौं उपत्यकाबाहेकका १० जिल्लामा १२ हजार १ सय ८६ जना खटाइएको छ । यस्तै, गण्डकी प्रदेशका ११ जिल्लामा १० हजार ९ सय ३३, लुम्बिनीमा १२ जिल्लामा १५ हजार ८ सय २८ जना, कर्णाली प्रदेशका १० जिल्लामा १० हजार ७ सय ५३ जना र सुदूरपश्चिमका नौ जिल्लामा १० हजार १ सय ६१ जना म्यादी प्रहरी परिचालन गरिएको छ । सबै गरी ७७ जिल्लामा ९९ हजार ९ सय ९३ जना म्यादी प्रहरी स्थानीय तह निर्वाचन सुरक्षाका लागि खटाइएको हो । म्यादी प्रहरी ४० दिनका लागि परिचालन हुने बताइएको छ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्