मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री, मधेशवादी दललाई ल्याउन मन्त्रालयको संख्या थपिने

काठमाडौं । सरकार गठन भएको झन्डै एक महिनापछि शुक्रबार मन्त्रिपरिषद विस्तार हुँदैछ । एमाले, माओवादी, संघीय समाजवादी फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली लागेका छन्।

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने लगभग निश्चित भएपनि राष्ट्रिय जनता पार्टीसँग भने छलफल जारी रहेको मन्त्री लालबाबु पण्डितले बताए । एमाले–माओवादीले यस अगाडि भागबन्डा गरेको मन्त्रालय संख्यामा दुबैका एक–एकवटा घटाएर फोरमको व्यवस्थापन गर्ने तयारी भएको छ ।

त्यसो हुँदा एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय भाग आउनेछ । त्यस्तै राजपा सरकारमा आए उसले पनि दुई मन्त्रालय पाउनेछ । मन्त्रालयको संख्या र कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषयमा टुंगो भने लागि नसकेको मन्त्री पण्डितको भनाई छ ।

आवश्यक परे मधेशवादी दललाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या पनि थप गर्ने तयारी भैरहेको छ । देशको विषम परिस्थिति र सबैलाई समेट्नु पर्ने भएकाले २ देखि ३ वटा मन्त्रालय थप हुन सक्ने मन्त्री पण्डितले बताए। संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री कार्यालय सहित २५ मन्त्रालय गठन गर्न सक्नेछ ।

तर ओली सरकारले संघीय प्रशासनिक भार बढ्ने भएको भन्दै मन्त्रालयको संख्या घटाएर १७ वटा मन्त्रालय कायम गरेको थियो । अब मधेशवादी दललाई पनि समेट्न पर्ने भएकाले मन्त्रालयको संख्या २० देखि २१ सम्म कायम गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्