पल शाह प्रकरणः उच्च अदालतले भन्यो- तनहुँ र पूर्वी नवलपरासीको मुद्दा सँगै राखेर हेर्नू

काठमाडौं, बैशाख १५ । पल शाहलाई विपक्षी बनाएर दुई जिल्ला अदालतमा दायर भएका मुद्दालाई सँगै राखेर हेर्न उच्च अदालतले आदेश दिएको छ।

पोखरा उच्च अदालतले दुवै मुद्दामा पीडक पनि समान व्यक्ति र पीडित पनि समान व्यक्ति भएको र कसुरको प्रकृति पनि एकैखाले भएकाले सँगै राखेर हेर्न आदेश जारी गरेको हो।

नबालिग गायिकामाथि पटकपटक जबरजस्ती करणी गरेको आरोपमा शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर भएर थुनछेक बहस पनि सकिएको छ।

विपक्षी पल पुर्पक्षका लागि जेल चलान भएका छन्। आज बसेको पेसीले पीडित एकै भएकाले दुवै जिल्लाको मुद्दा सँगै राखेर हेर्ने आदेश दिएको र अब अर्को सुनुवाइ सम्भवतः अर्को साता हुने उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेले बताए ।

पीडित एकै भएपनि घटनास्थल र घटना फरक भएकाले दुवैतिर मुद्दा चलिरहेको छ। दुवै जिल्लाका अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि पल शाहले उच्च अदालत पोखरामा जिल्लाको थुनेछक आदेशविरुद्ध निवेदन दिएका थिए।

उन्मुक्ती पाउलान त?

यता यो मुद्दाकी नाबालिग पीडित र पीडितका बुबा दुवैले अदालतमा बकपत्र गर्ने क्रममा बयान नै फेरेका छन्।दुवै अदालतमा बकपत्र गर्ने क्रममा पीडितले आफूलाई पलले जर्बजस्ती करणी नगरेको र अरुको उक्साहटमा जाहेरी दिएको व्योहोरोको बयान दिएकी छिन्। पीडितका बुबाले पनि ‘पछि बुझ्दै जाँदा त्यस्तो केही नभएको रैछ’ आशयको बकपत्र गर्दै आफ्नो बयान फेरेका छन्। यसरी उनीहरुले बयान फेर्दा अब पलले सफाइ पाउने आशा भने उनका सर्मथक तथा फ्यानहरुमा रहेको छ । पल निर्दोष भएको र उनले सफाइ पाउनै पर्ने उनीहरुको माग रेहको छ । यति बेला उनको पक्षमा जनसागर नै ओर्लीएको छ ।बयानले पलका फ्यानहरुमा खुशि छाएको छ । अब उच्च अदालतले भने के फैसला गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्