अध्यक्ष नेपाल भन्छन्- वृद्ध भत्ता हामीले नै सुरू गरेका हौं
काठमाडौं , बैशाख १५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताको सुरुवात आफूहरुले गरेको दाबी गरेका छन् ।
बिहीबार राजधानीमा आयोजित पार्टी एकीकरण कार्यक्रममा नेपालले यस्तो बताएका हुन. । उनले २०५१ सालमा केपी ओली ९एमाले अध्यक्ष०ले नभई आफूहरुले सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको दाबी उल्लेख गरे ।
‘२०५१ सालमा बुढापाकालाई वृद्धभत्ता दिने काम हामीले नै गरेका हौ । हामीले नै अपाङ्गता भएका, एकल महिलाहरुलाई वृद्ध भत्ता दिनुपर्ने व्यवस्था गरेका हौं,’ उनले भनेका छन्, ‘अहिले म सुन्दै छु, एमालेको ओली गुटले हामीले गर्यौं भन्दै छन् । उनको त भूमिकै थिएन । त्यहाँ भूमिका थियो भने मनमोहन अधिकारीको थियो, माधव नेपालको थियो । भरतमोहन अधिकारीको थियो ।’
साथै ओली सरकारमा हुँदा भ्रष्टाचार गर्ने काम मात्र गरेको नेपालको भनाइ रहेको छ। साथै नेपालले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् । कार्यक्रममा उनले पालिका प्रमुखमा जस्तै वडा तहमा पनि सहमतिको प्रयास भइरहेको जानकारी दिएका हुन् ।
अध्यक्ष नेपालले काँग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलका उम्मेदवारलाई पनि निर्वाचित गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरे । बिहीबार गठबन्धनको कार्यदलको बैठक बस्न लागेको जानकारी दिँदै उनले सहमतिका साथ गठबन्धन अघि बढ्ने बताए ।
स्थानीय तहमा गठबन्धनबीच सहमति कायम गरेर उम्मेदवारलाई निर्वाचित गराउने विषयमा छलफल गर्न कार्यदलको बैठक बस्न लागेको भन्दै उनले केही पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्