हप्तामा दुईदिन बिदा दिने निर्णयले कर्मचारीहरू खुसी ! यो निर्णयले होला त राज्यलाई फाइदा ?
काठमाडौं , बैशाख १४ । सरकारले जेठदेखि हप्तामा दुईदिन बिदा दिने निर्णय गरेको छ । शनिबार र आइतबार गरी दुईदिन बिदा दिने निर्णय सरकारले गरेको हो । यो निर्णय गरेसँगै सरकारी कर्मचारीहरुले भने खुशी व्यक्त गरेका छन् ।
सरकारले गरेको निर्णयप्रति नेपाल निजामती कर्मचारी यूनियनका अध्यक्ष गोपाल पोखरेलले कर्मचारीतन्त्रमा खुसीयाली छाएको बताएका छन् । । उनले सरकारले खर्च सरकारी खर्च नबढ्ने गरी गरेको निर्णयमा विरोध गर्नुपर्ने कारण नभएको औंल्याए ।
यस्तै एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे पनि सरकारी साधनको दुरुपयोग नहुँदा विदा प्रभावकारी हुने बताउँछन् ।
‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कार्यघण्टा नघट्ने गरी सरकारले दिएको विदा हो ठीकै हो । सेवाग्राहीलाई कार्यघण्टा अनुसार सेवा दिए राम्रै हुन्छ । यसमा कर्मचारी खुसी नै छन्,’ उनले भने ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले पनि कर्मचारीहरुलाई सरकारले दिएको विदाले खुसी नै दिएको बताए ।
‘सेवा दिने समय कार्यघण्टा अनुसार घट्दैन । त्यसकारण यो प्रभावकारी हुनसक्छ । दुई दिनको विदाले कर्मचारी उत्साहित हुन्छन्,’ उनले भने,’हामीसँग छलफल गरेर निर्णय नभए पनि यसले राम्रै गर्ला । सरकारले अध्ययन गरेर नै निर्णय गरेको होला ।’
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १ जेठदेखि परीक्षणका रुपमा लागू हुने गरी दुई दिन सार्वजनिक बिदा दिने बताएको हो । यस्तै कार्यालय समय पनि बढाएको छ र अब कार्यालय समय विहान ९ः३० देखि ५ः३० सम्म रहने भएको छ ।
यता हप्तामा दुईदिन बिदा दिदा के राज्यलाई फाइदा होला त भन्ने प्रश्न पनि उठेको छ ।देशमा बढ्दो आर्थिक संकट र इन्धन अभावलाई ध्यानमा राख्दै सरकारले यो निणर्य लिएको हो ।
पछिल्लो समय इन्धनको भाउ आकासिँदै जाँदा सरकारले खर्च कम गर्ने रणनीति लिएको हो । अब यो निर्णयले के राज्यलाई हुँदै आएको घाटामा कमी आउला त ? त्यो त समयले नै बताउला !
प्रतिक्रिया दिनुहोस्