ओलीको टिप्पणी– कांग्रेसको घोषणापत्र गालीगलाैजको पुलिन्दा, भन्छन्- देउवासँग देश विकासको एजेन्डा छैन

काठमाडौं, बैशाख १३ ।  एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा भएको टिप्पणी गरेका छन्।

मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा एमालेलाई गालीगलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्ताबेज चोरेको आरोपसमेत लगाए।

अध्यक्ष ओलीले ०६२/६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने वेला भएको बताए। उनले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाए।

उनले नेपाली कांग्रेससँग अहिले कुनै राजनीतिक एजेन्डा र देश विकासको योजना नभएको र कांग्रेसमा देशविकास, नीति, नियम, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको टिप्पणी गरे।

‘नेपाली कांग्रेसले घोषणापत्र भन्ने शीर्षक छ बाहिर। बाहिर शीर्षक, भित्र गालीपुराण भन्ने अहिलेसम्म सुनेको थिएन, भित्र गालीपुराण छ। यो तथानाम एमालेलाई गाली, धारेहात लाएर सरापेको छ,’ उनले भने, ‘नेपाली कांग्रेसका कार्यकर्ताहरूले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौँ, नेकपा एमलेका कारणले हाम्रा सपनाहरू ध्वस्त भए। हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा।’

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेन्डा नभएको आरोप लगाए। उनले सुशासन वा शासन कसरी सञ्चालन गर्ने भन्नेबारे पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताए। अध्यक्ष ओलीले नेपाली कांग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको आरोप लगाए।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभई केन्द्र भएको आरोप लगाए। चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टी नहुने उनको तर्क थियो। अध्यक्ष ओलीले चुनावी घोषणापत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गरे। उनले माओवादीले के गर्छ, के गर्न खोज्दै छ भन्ने कुराहरू भन्न नमिल्ने र झुट बोल्ने बाँकी कुरा नभएकाले ननिकालेको आरोप लगाए।

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाए। उनले हतारमा घोषणापत्र निकालेको समाजवादीको घोषणापत्रमा केही तुक नरहेको दाबी गरे।

 

प्रतिक्रिया दिनुहोस्