३५ हजार २२१ पदका लागि एक लाख १८ हजार जनाको उम्मेदवारी दर्ता
काठमाडौं, बैशाख १३ । यहि बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार गरी देशभरका ७५३ वटै पालिकामा उम्मेदवारी दर्ता गरिएको छ ।
सोमबार राति १ बजेसम्मको तथ्यांकअनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदका लागि एक लाख १८ हजारभन्दा बढीले उम्मेदवारी दर्ता गरेका छन् । देशभरका पालिकामा गरी ३५ हजार २२१ पदका लागि उक्त संख्यामा उम्मेदवार बनेका हुन् ।
निर्वाच आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखमा २,९८७ र उपप्रमुखमा १,८५२ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा ३,१०८ र उपाध्यक्षमा २,१८२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै वडाध्यक्षमा २८ हजार २१४, महिला सदस्यमा १९ हजार ९३४, दलित महिला सदस्यमा १७ हजार ९९७ र वडा सदस्यमा ४१ हजार ८४२ उम्मेदवारी दर्ता भएका छन् । तर अझै यो अन्तिम तथ्यांक नभएको निर्वाचन आयोगले जानकारी दिएको छ । यो तथ्याङ्क अद्यावधिक कार्य भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्