आजदेखि मेलम्चीको पानी फेरि काठमाडौंका घर-घरमा
काठमाडौं , बैशाख ११ । मेलम्चीको पानी आज (आइतबार) देखि फेरि काठमाडौ उपत्यकावासीको घरघरमा वितरण हुने भएको छ ।
आज बिहान महाङ्कालचौरमा पानी आइपुग्ने र दिउँसोदेखि वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जानकारी दिएको छ । अहिले धेरैजसो ठाउँमा नयाँ पाइपको परीक्षण बाँकी रहेकाले पुरानो पाइपबाटै पानी पठाउने तयारी छ ।
गतमा सुन्दरीजलबाट ल्याएको पानी केयूकेएलले महाङ्काल, बालाजु, बाँसबारी, खुमलटार, बानेश्वर, बोडे र कीर्तिपुरसम्म पुर्याएको र यसपालि पनि ती गाउँमा पानी पुर्याउने लक्ष्य राखिएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए ।
गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो । आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाडौ उपत्यकामा वितरणका लागि २६ किलोमिटर भन्दा लामो सुरुङ तथा पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरिएको थियो । तर अहिले थोरैबाट वितरण शुरु हुँदैछ ।
मेलम्ची खानेपानी आयोजना निर्माण शुरु भएको झण्डै २२ वर्षमा अघिल्लो वर्ष पानी काठमाडौं आइपुगेको थियो । तर गएको असार एक र साउन १७ गतेको बाढी/पहिरोले मेलम्चीमा क्षति गरेको थियो । काठमाडौं उपत्यकामा अहिले दैनिक ४३ करोड लिटर पानीको माग छ । तर वितरण भने मौसम अनुसार फरक पर्छ ।
प्रतिक्रिया दिनुहोस्