प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं , बैशाख १० । नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदहरूको टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान देउवाले पाँच सदस्यीय टोलीलाई भेट गरेका हुन् ।
भेटको क्रममा नेपाल(अमेरिका मित्रता र सरकार, संसद् र जनता आवद्ध बहुआयामिक साझेदारीका उपायबारे बिचार आदान प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटपछि शनिबार नै प्रधानमन्त्रीले यसबारे जानकारी दिएका थिए । भेटको क्रममा नेपाल जलवायु परिवर्तन लगायत विश्वव्यापी मुद्दामाथि पनि छलफल भएको बताइएको छ ।
युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेण्डा बनाएर अमेरिकी सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा रहेको उक्त टोली शुक्रबार साँझ नेपाल आइपुगेको हो ।
टोलीका अन्य सदस्यमा सेनेटरहरु (माथिल्लो सदनका) शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली छन् । यस्तै, प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स पनि टोलीमा रहेका छन् । उनीहरु सबै डेमोक्र्याटिक पार्टीमा आबद्ध हुन् ।
अमेरिकी संसदीय टोली र नेपाली सांसदबीच छलफल
नेपाल भ्रमणमा रहेको अमेरिकी सांसद टोली र नेपाल(अमेरिका संसदीय मैत्री समूहहबीच काठमाडौंस्थित होटल मेरिएटमा अहिले भेटवार्ता भएको छ ।
नेपाल अमेरिका संसदीय समूहका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका नेता डा। मिनेन्द्र रिजालले अमेरिकी सांसदमको टोलीलाई स्वागत गरेका छन् । भेटमा नेपाली सांसदहरू शक्ति बस्नेत, जीवनराम श्रेष्ठ, बिन्दा पाण्डे र नवराज सिलवाललगायत छन् । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी एवम् दूतावासका अधिकारी लन्च बैठकमा सहभागी छन् । अमेरिकी संसदीय टोलीले यसअघि आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेको थियो ।














प्रतिक्रिया दिनुहोस्