आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने ठेकेदारहरूको घोषणा
काठमाडौं , बैशाख ९ । निर्माण व्यवसायीहरूले आइतबारदेखि देशभरका विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन्।
शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आइतबारदेखि कुनै पनि निर्माण व्यवसायीले अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (होलिडे) गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो।
ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्यधिक बढेकाले सो मूल्यबृद्धि समायोजन नभएसम्म आयोजनाको काम रोकिने महासंघका अध्यक्ष रवि सिंहले बताए।
सार्वजनिक खरिद ऐनमा भएको त्रुटी सच्याउनुपर्ने, बीमा सम्बन्धी जारी गरिएको निर्देशिका लगायतका प्रवधानहरु खारेजी गर्नुपर्ने, एकमुष्ठ म्याद थपसहित अन्य माग उनीहरुले अघि सारेका छन्।
‘ठेक्का लिने बेलामा भन्दा अहिले कतिपय निर्माण सामग्रीको मूल्य दोब्बरसम्म भएको छ’, सिंहले भने, ‘हामीले गोजीबाट रकम हालेर काम गर्न त सक्दैनौं। जबसम्म मूल्यबृद्धि समायोजन हुँदैन, तबसम्म काम अघि बढ्दैन।’
यद्यपि, अत्यावश्यक कामले भने निरन्तरता पाउने उनले बताए। उनले आफूहरु रहरले नभई बाध्यात्मक रुपमा कन्ट्रक्सन होलिडे गर्नुपर्ने अवस्थामा आएको बताए।
प्रतिक्रिया दिनुहोस्