भरतपुरकी रेनु दाहाल र वीरगञ्जका विजय सरावगीले दिए मेयरबाट राजीनामा

काठमाडौं , बैशाख ९ । आसन्न स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न वीरगञ्ज र भरतपुरका मेयरले राजीनामा दिएका छन् ।

वीरगञ्जका मेयर विजय सरावगीले बिहीबार दिएको राजीनामा शुक्रबार स्वीकृत भएको हो । ‘मैले हिजै राजीनामा दिएको थिएँ, आज स्वीकृत भयो,’ सरावगीले भने ।

उनी यसपालि नेकपा एमालेबाट वीरगञ्जको मेयर उठ्दै छन् । यता भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि शुक्रबार राजीनामा दिएकी छन् । शुक्रबार महानगरका जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन गर्दै उनले राजीनामा घोषणा गरेकी हुन् । उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् ।

‘अबको एक कार्यकाल फेरि मेयरका रूपमा भरतपुरमा सेवा गर्न खोजेको छु । अहिलेसम्म गरेका कामलाई पूणर्ता दिनका लागि पनि फेरि दोहोरिन पर्ने भयो,’ दाहालले भनिन् । पाँच दलीय गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार उठाउने सहमति गरेको थियो । माओवादी केन्द्रबाट दाहाल निर्विकल्प उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्