को बन्ला गठबन्धनबाट काठमाडौं महानगरको उपमेयर ? श्रेष्ठको सम्भावना बलियो
काठमाडौं , बैशाख ७ । सत्तारुढ गठबन्धनमा काठमाडौं महानगरमा मेयर नेपाली कांग्रेसले र उपमेयर नेकपा एकीकृत समाजवादीले लिने गरी भागबण्डा टुंगिएको छ ।
भागबण्डा टुंगिएपछि अब उपमेयरको उम्मेद्वार को होला भन्ने चासो पनि त्यतिकै छ । तर चर्चामा भने एकीकृत समाजवादीबाट उपमेयरका लागि रामेश्वर श्रेष्ठ, ईश्वरमान डंगोल, शुद्ध डंगोल, रन्जना मास्के र सिता श्रेष्ठको नाम छ । निर्णय भने अझै भइसकेको छैन ।
कसलाई बनाउने भनेर निर्णय नभएको र एक/दुई दिनमा निर्णय गरेर प्रदेश समितिलाई पठाउने एकीकृत समाजवादीका काठमाडौं जिल्ला इन्चार्ज वसन्त मानन्धरले बताए ।
चर्चामा रहेका रामेश्वर श्रेष्ठ एकीकृत समाजवादीको महानगर कमिटी अध्यक्ष हुन । मेयरको उम्मेदवारमा श्रेष्ठको सम्भावना बढी छ । श्रेष्ठ नै उपमेयर बन्ने चर्चा चलेको छ । पार्टीको सक्रिय नेता भएकाले पनि श्रेष्ठको सम्भावना बलियो देखिएको हो ।
रामेश्वर श्रेष्ठले उमेद्वार पाउने पक्कापक्कि भएको छ । उनी सबैलाई मिलाएर लैजानसक्ने निष्ठावान नेताको रुपमा पार्टीमा पहिचान बनाएका छन् ।
त्यस्तै ईश्वरमान डंगोल हाल महानगरका प्रवक्ता र वडा नं. १५ का अध्यक्ष हुन । उनी दुई पटक वडाध्यक्ष भइसकेका छन् । शुद्ध डंगोल वडा नं. ७ को वडाध्यक्ष हुन् । रन्जना मास्के एक पटक तत्कालीन वडा नं.३१ को वडासदस्य भएकी छिन् । सिता श्रेष्ठसँग भने जनप्रतिनिधि भएको अनुभव छैन् ।
एकीकृत समाजवादीले लैंगिक समानतालाई समेत ख्याल गर्दै कांग्रेसले प्रमुखमा महिला सिफारिस गरे पुरुष र पुरुष सिफारिस गरे महिलालाई उम्मेदवार बनाउने छ।
कांग्रेसले महानगर प्रमुखमा सृजना सिंहलाई सिफारिस गर्ने तयारी गरेको छ । त्यसो भएको खण्डमा एकीकृत समाजवादीले चर्चामा रहेका नाममध्येबाट पुरुष उम्मेदवार पठाउने मानन्धरले जानकारी दिए ।
स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ । वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा दलहरू उम्मेदवार चयनका लागि तीव्र रूपमा लागेका छन् ।















प्रतिक्रिया दिनुहोस्