निर्वाचन सुरक्षा योजना लागू गर्न सबै जिल्लालाई गृहको परिपत्र

काठमाडौं, बैशाख ७ ।  स्थानीय तहको चुनाव नजिकिएसँगै गह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा अवस्था चुस्त पार्न परिपत्र गरेको छ। मन्त्रालयले मंगलबार सबै जिल्लामा ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ अनुसारको सुरक्षा योजना लागु गर्न निर्देशन दिएको हो।

मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ १० चैतमा सबै जिल्लाहरुमा पठाएको थियो । उक्त सुरक्षा नीति कार्यान्वयन गर्नु गृहले पुनः पत्र पठाएको हो। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार गृहले तयार पारेको चुनावी सुरक्षा योजना लागु गराउन सबै जिल्ला प्रशासनलाई अनुरोध गरिएको छ।

मन्त्रालयले तयार पारेको सुरक्षा गाइडलाइन अनुसार सुरक्षा चुस्त पार्न सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र गरिएको पोखरेलले बताए। ‘चुनावी सुरक्षा योजना लागू गर्ने विषयमा ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेका छौं,’ उनले भने, सोही अनुसार अब चुनावी सुरक्षा योजना लागु हुन्छ।’ गृहले चुनावी मिति तोकिएलगतै सुरक्षा रणनीति तयार पारेको थियो ।

मंगलबारदेखि लागु हुनेगरी चुनाव सकिएपछि विजयी भएका जनप्रतिनिधिले विजयी उत्सव मनाउँदासम्म प्रशासनले चुनावी सुरक्षा गाइडलाइन अनुसार काम गर्नेछन्।

चैत्र १० गते सरकारले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको थियो। सोहि ‘गाइडलाइन’ अनुसारको सुरक्षा व्यवस्था लागु गर्न जिल्ला प्रशासन र प्रहरी प्रधान कार्यालयले सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिनेछ।

प्रतिक्रिया दिनुहोस्