पल शाह प्रकरण : पीडितका बुबाले पनि फेरे बयान, भने- पछि बुझ्दा खेरी जबर्जस्ती करणी गरेको रहेनछ

काठमाडौं, बैशाख ६ ।  अभिनेता पूर्णविक्रम शाह ( पल) प्रकरणमा पीडित किशोरीका बुबाले पनि बयान फेरेका छन्।  शाहको जबरजस्ती करणीसम्बन्धी मुद्दामा पीडित नाबालिगपछि आज जाहेरवाला पीडितका बुबाले पनि बयान फेरेका हुन् ।

जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा उनले पहिले सरकारी वकिल समक्ष गराएको बयान भन्दा केही फरक बयान दिएका हुन्।

‘अरु सबै कुरा उस्तै छ तर अन्तिम तिर उहाँले पछि बुझ्दा खेरी जबर्जस्ती करणी गरेको रहेनछ भनेर बयान दिनु भयो,’ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने।

बकपत्रमा पीडितका बुबाले आफूले सुनेको भरमा जाहेरी दिएको बयान गरेको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता  शर्माले बताए।

‘जाहेरवाला पीडितका बुबाले पनि पहिलेभन्दा अलि फरक व्यहोराको बकपत्र लेखाए,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने, ‘जाहेरीमा सहीछाप आफ्नै हो भने तर छोरीलाई करणी गरेको सुनेको भरमा अरुको उक्साहटमा जाहेरी गरेको, आफूले देखेको चाहिँ होइन भन्ने खालको बयान दिए।’

जिल्ला अदालत स्रोतका अनुसार केही दिनदेखि नै पीडितका बाबुले नजिकका मानिसहरुसँगको कुराकानीका क्रममा बयान फेर्ने संकेत गरेका थिए । ‘त्यो केटालाई १२ वर्ष थुनाएर हामीले के पाउछौं र भनेर उहाँले बारम्बार भन्नुभएको थियो,’ अदालत स्रोतले भन्यो, ‘कसैलाई दुःख दिएर हामीलाई शान्ति हुँदैन, समाधानतिर जानुपर्छ भन्नुहुन्थ्यो ।’

त्यस्तै आज पीडितका बुबाको बयानअघि गायक दुर्गेश थापाले पनि बकपत्र गराएका छन्। सोमबार भने पीडितको पक्षबाट गायक कमल खत्रीसहित पलका साथीहरु सागर लामिछाने, नरेश जोगी र अर्बिन पामोले बकपत्र गरेका थिए।

दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको थियो। अदालतले अभिनेता शाहलाई चैत १० गते पूर्पक्षको लागि थुनामा पठाएको थियो।

थुनछेकपछि आइतवारबाट अदालतमा बकपत्र लिइएको थियो। आइतवार पीडित किशोरीले पनि सरकारी वकिलसमक्ष लिएको बयान भन्दा फरक बयान दिएकी थिइन्। उनले पनि उक्साहटमा उजुरी दिएको र करणी नभएको भन्दै शाहको बचाउ गरेकी थिइन्।

फागुन ११ गते किशोरीका तर्फबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको थियो। त्यसको चार दिनपछि शाह पक्राउ परेका थिए।

शाहले जिल्लाको थुनछेक आदेशउपर उच्च अदालतमा निवेदन समेत दिइसकेका छन्। शाह विगत डेढ महिनादेखि थुनामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्