कांग्रेसले छाड्यो पोखरा महानगरको दाबी, एकीकृत समाजवादीलाई दिने सहमति

काठमाडौं, बैशाख ६ । पाँच दलीय गठबन्धनले पोखरा महानगरपालिकाको मेयरको टिकट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने निर्णय लिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा कांग्रेसले दाबी छाडेपछि समाजवादीले पोखरा महानगरपालिकाको टिकट पाउने भएको हो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले विजयी पोखरामा समाजवादीका अध्यक्ष नेपालले बलियो दाबेदारी गर्दै आएका थिए।

पोखरामा सहमति जुटेपछि पाँच दलीय गठबन्धनले ६ वटै महानगरपालिकाको टुंगो लगाएको छ। देशभरका ६ वटा महानगरमध्ये ३ वटा कांग्रेसले लिने र बाँकी ३ वटा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीलाई दिने तय भएको छ।

६ महानगरमध्ये काठमाडौं, विराटनगर र ललितपुर महानगरपालिका कांग्रेसले लिएको छ। त्यसैगरी चितवनको भरतपुर माओवादी केन्द्रले लिएको छ।

उता जनता समाजवादी पार्टीले पर्साको वीरगञ्ज महानगरपालिका लिने सहमति भएको छ।  अब ११ उपमहानगरको भागबन्डा टुंगिनेक्रममा रहेको बुझिएको छ ।

आजै बस्ने सत्ता गठबन्धनका दलहरुको बैठकले यस बारेमा औपचारिक निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्