एकीकृत समाजवादीको घोषणापत्र: २०० युनिट बिजुली नि:शुल्क [पूर्णपाठ]
काठमाडौं, बैशाख ६ । नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा अध्यक्ष माधव नेपालले पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा ‘हाम्रो विद्रोह, पार्टी पुनर्गठन र स्थानीय सरकारसम्बन्धी दृष्टिकोण’ बुँदामा एमालेसँग विद्रोह गर्नुको कारण उल्लेख गरिएको छ। ‘त्याग र बलिदानको जगमा निर्माण भएको पार्टीबाट विद्रोह गर्नु हाम्रो रहर थिएन, बाध्यता थियो। कम्युनिस्ट विचार, सिद्धान्त, आचरण र कार्यशैलीबाट च्युत भएको नेतृत्वलाई सुधार्न नसकिने अवस्थामा विद्रोह नगरेको भए कम्युनिस्ट आन्दोलन जोगाउन सकिने थिएन भन्ने हाम्रो निष्कर्ष छ’, भनिएको छ।
घोषणापत्रमा विगत (एमाले)मा छँदा ‘स्थानीय विकासबारे विगतका हाम्रा प्रयासहरू’ शीर्षक दिएर विगतका कामहरुको स्मरण गराइएको छ। ‘कमरेड मनमोहन अधिकारीको नेतृत्वमा गठित २०५१ सालको नौ महिने सरकारको सबैभन्दा लोकप्रिय र जनजनका मनमस्तिष्कमा बस्न सफल कार्यक्रम हो, ‘आफ्नो गाउँ आफै बनाऔँ’ । यो कार्यक्रम नेपालको स्थानीय विकासका क्षेत्रमा आधारभूत परिवर्तन ल्याउने युगान्तकारी कदम थियो’, घोषणापत्रमा भनिएको छ।
आगामी दिनका लागि पनि विभिन्न प्रतिबद्धताहरु व्यक्त गरिएका छन्। जनताको अधिकार : निःशुल्क स्वास्थ्योपचार; शिक्षामा सुधार : प्रगतिको आधार; निःशुल्क खानेपानी : सुखी जिन्दगानी; प्रत्येक घरपरिवारलाई २०० युनिट निःशुल्क बिजुली; संरक्षित कृषिबजार : किसानको जीवनमा बहार; घरेलु तथा ग्रामीण उद्योग, आत्मनिर्भताको प्रयोग; उद्यमशीलता विकासका लागि विशेष योजना; पालिकामा युवा विभाग; हरेक वार्डमा खेल मैदान; खेलाडीहरूलाई सम्मान र पुरस्कारको व्यवस्था; हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालय; फोहर बन्ने छ मोहर : सफा गाउँसहर; सडक सञ्जाल : विकास निर्माणको पूर्वाधार; जातीय छुवाछुत मेटाऔँ : मानव मर्यादा कायम गरौं !; सामाजिक विकासका लागि साहित्य, कला र संस्कृति; बालबालिका विशेष कार्यक्रम; ज्येष्ठ नागरिकको सम्मान : समुदायको सान जस्ता नाराहरुका साथ विभिन्न योजनाहरु सार्वजनिक गरिएको छ।
घोषणापत्रको पूर्णपाठ:
प्रतिक्रिया दिनुहोस्