चुनाव रोकिए ठूलो दुर्घटना : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, बैशाख ३ ।  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आज (शनिबार) जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । निर्वाचनको मिति पछि धकेलिएमा मुलुक दुर्घटनामा फस्ने सम्भावना रहेको बताउँदै निर्वाचनको मिति चाहेर पनि सार्न नसकिने बताए ।

उनले भने, ‘क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाई तलमाथि गर्ने प्रयास गरियो भने दुर्घटना हुन्छ, त्यसैले निर्वाचन निर्धारित मिति मै हुन्छ ।’ उनले यसै वर्षभित्र प्रदेश, प्रतिनिधिसभा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको बताए ।

शनिबार जनकपुरधाममा स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले भने, ‘निर्वाचनको मिति तोकेर, गन्तव्य तोकेर क्षेप्यास्त्र प्रक्षेपण भइसकेको अवस्था हो । यसलाई तलमाथि, वरपर वा कुनै तरिकाले परिवर्तन गर्न खोज्नु भनेको दुर्घटना निम्त्याउनु हो ।’

उनले निर्वाचनको मिति तय हुँदा छलफल र संविधान/कानुनका विषयमा तर्कवितर्क भएकै थिए भन्दै उनले अब सरकारले निर्वाचनको मिति तय गरिसकेकाले अब तर्कवितर्कको आवश्यकता नरहेको टिप्पणी उनले गरे ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको क्रम भंग गर्ने अवस्था नरहेको भन्दै उनले निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने धारणा राखे । उनले यसका साथै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सम्पन्न हुने दाबी गरे । थपलियाले निर्वाचन आचारसंहितालाई सामान्य नठान्न भन्दै यसको उलंघन गरे कारबाही हुने चेतावनी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्