राप्रपा नेपालको प्रगतिलाई कुनै शक्तिले रोक्न सक्दैन : कमल थापा

काठमाडौं, बैशाख २ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो प्रगतिलाई रोक्ने छेक्ने शक्ति असफल हुने बताएका छन्।यदि आफूहरुलाई असफल बनाउने सपना देखेको छ भने त्यो सफल नहुने पनि उनले बताए।

शुक्रबार नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपालको मार्गचित्र नै सही र मुलुकको हितमा भएको समेत दाबी गरे।

राप्रपा नेपाल युवाहरुका निम्ति खडा भएको भन्दै उनले कोही युवाको भविष्य बर्बाद नहुने गरि आफूले राजनीतिक एजेन्डा बोकेको स्पष्ट पारे।

राप्रपा नेपालमा लाग्दा कसैले पश्चाताप गर्नु नपर्ने भन्दै थापाले मुलुकलाई दुरावस्थामा पुर्‍याउने भ्रष्टाचार , बेरोजगारी, धर्म परिवर्तन र कुशासनविरुद्ध युवाहरुले आवाज बुलन्द पार्नुपर्ने बताए।

‘नियोजित र प्रायोजित रुपमा मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ’, उनले भने, ‘सबै षडयन्त्रलाई चिरेर अघि बढ्ने दृढता मसँग छ।’

कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पार्टी नेतृत्वमाथिको घेराबन्दी र षडयन्त्रको भण्डाफोर गरिने बताए।

कार्यक्रममा नेताहरु नगेन्द्र देउजा,लोकनाथ लामिछाने कृष्ण घिमिरे, विशाल शर्मा लगायतले बोलेका थिए। त्यस अवसरमा युवाहरुलाई अध्यक्ष थापाले पार्टी प्रवेश गराएका थिए।

प्रतिक्रिया दिनुहोस्