नयाँ बर्षको शुभकामना दिदै पूर्वराजाले भने- अर्थहीन परिवर्तनले नेपालीलाई सन्तुष्ट पार्न सकेन
काठमाडौं, चैत ३० । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ बर्षको शुभकामना दिदै चर्का नारा र अर्थहीन परिवर्तनले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देशमा गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै नेपालीको घर घरमा बढ्दो महंगी र थपिदों आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
नेपाली दिदी बहिनी तथा दाजुभाइहरु,
बिक्रम संवत् २०७८ लाई अतीत र इतिहासको पानामा पल्टाउंदै हामी नयाँ बर्ष २०७९ को बर्तमानमा आई पुगेका छौं । नयां वर्षको प्रारम्भमा हामी हाम्रा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहे बसेका सबै नेपालीहरुलाई संझेर सुख, शान्ति तथा समुन्नतिको कामना
गर्दछौं ।
वर्ष बदलिंदा हाम्रो हर्ष पनि बढ्नु पर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर बृद्धि पनि हुनु पर्दछ । तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन । चिन्ताको विषय हाम्रो यो हो । प्यारो मातृभूमि नेपाल “त्रिपक्षीय महाशक्तिहरुबीचको शिखर आभूषण” को रुपमा रहेतापनि, आफ्नै भू बनोट, सामाजिक संरचना, गौरवपूर्ण इतिहास, मौलिक मूल्य मान्यता तथा परम्पराले गौरवान्दित रही आएको छ ।
सबै राष्ट्र, सबै समुदाय मिलेर रहुन्, कतै अशान्ति नहोस्र कोही कसैमा विभाजन, विभेद नरहोस् भन्ने हाम्रो मान्यता हो । छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्वन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई संझेर हामी सदैव चनाखो
हुनुपर्दछ । यही भावनालाई आत्मसाथ गर्दै नेपाल शान्ति भूमि बन्न सकोस्भन्ने आकांक्षा हामीले राखेका हौं । तर आज नेपाल कोहीसंग कतै टांसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने जुन धारणा उत्पन्न भएको छ त्यो आफैमा आत्महिनताको विषय बन्न गएको छ ।
हाम्रो अर्थविद्हरु तथा उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन्। नेपालीको घर घरमा बढ्दो महंगी र थपिदों आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको दुखेसो छ ।
नेपाली सबैको भलो होस्
प्रतिक्रिया दिनुहोस्