जित्नैपर्ने दबावमा रहेको नेपालले पपुवा न्युगिनीका यी चार खेलाडीलाई रोक्न सके सम्भावना वलियो
काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेट अन्तर्गत प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीसँग आज प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा निकै कमजोर प्रदर्शन गरेको पपुवा न्युगिनीका यी चार खेलाडीलाई रोक्न सके नेपालले जित निकाल्न सक्ने र वान डेको मान्यता नजिक हुनेछ तर त्यति सजिलो भने छैन ।
पपुवा न्युगिनी आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको चौथो हुँदै विश्वकप छनोटमा समेत स्थान बनाएको टिम हो । तर यो समयमा भने राम्रो प्रदर्शन गर्न सकेन । समूह चरणमा एक खेल पनि जित हात नपारेको पपुवा न्युगिनीमाथि नेपालले जित हात पारे एक दिवसीय मान्यता पाउने सम्भावना बलियो छ ।
यसका लागि नेपालले पपुवा न्युगिनीलाई पराजित गर्नैपर्छ र अर्को प्ले अफमा हङकङलाई नेदरल्याण्डले पराजित गर्न सकेमा मात्र नेपालले एक दिवसीय मान्यता पाउनेछ ।
आजको खेल नेपालको लागि इतिहास रच्ने सुनौलो अवसर हुनेछ त्यसको लागि नेपालले पपुवा न्युगिनीलाई हराउनु पर्छ र नेदरल्याण्डले हङकङलाइ पराजित गर्नुपर्छ ।
पपुवा न्युगिनीका सबै खेलाडी राम्रो फर्ममा छन् । पपुवा न्युगिनीलाई पराजित गर्ने हो भने यी खेलाडीलाई नेपालले रोक्नुपर्ने हुन्छ ।
टोनी उरा
पपुवा न्युगिनीका भरपर्दा ओपनिङ ब्याट्सम्यान हुन् टोनी उरा। उनले आयरल्याण्ड विरुद्धको खेलमा पपुवा न्युगिनीका लागि १० चौका र ६ छक्का प्रहार गर्दै शतक बनाएका थिए । टोनी उराले उत्कृष्ट प्रदर्शन गर्दै १५१ रन बनाएका थिए । उनकै उत्कृष्ट प्रदर्शनपछि पपुवा न्युगिनीले २३५ रन बनाएको थियो ।
पपुवा न्युगिनी आयरल्याण्डसँग ४ विकेटले पराजित भएको थियो ।
नेपालले खेल आफ्नो पक्षमा पार्नका लागि टोनी उरालाई कम रनमै आउट गर्नुको विकल्प छैन ।
असद भाला
पपुवा न्युगिनीका कप्तान हुन् असद भाला । समूह चरणको खेलमा असद भालाले १११ रन बनाएका छन् । देब्रेहाते ब्याट्सम्यान असद एक प्रभावशाली खेलाडी हुन् । कप्तान असदले फष्र्ट क्लासमा ३ शतक र ३ अर्धशतक प्रहार गरेका छन् । त्यस्तै, लिष्ट ए मा उनले १ शतक र ७ अर्धशतक बनाएका छन् । पहिलो र दोस्रो खेलमा चल्न नसकेपनि असदले वेष्ट इन्डिजविरुद्ध ५७ र नेदरल्याण्ड विरुद्ध ४४ रन बनाएका थिए । त्यसैले नेपाली खेलाडीले उनी विरुद्ध सजक हुनुपर्ने हुन्छ ।
नोरमान भनुआ
नोरमान भनुवा पपुवा न्युगिनीका फास्ट बलर हुन् । उनले जारी प्रतियोगितामा ८ विकेट लिई सकेका छन् भने ब्याटिङतर्फ ८० रन बनाएका छन् । उनले युएईविरुद्ध ४ विकेट लिएका थिए । त्यस्तै, आयरल्याण्ड विरुद्ध दोस्रो खेलमा १ विकेट मात्रै लिन सफल भएका भनुवाले तेस्रो खेलमा वेष्ट इन्डिज विरुद्ध पनि १ विकेट लिएका थिए ।
ब्याटिङतर्फ पनि उनको प्रदर्शन निकै राम्रो छ । अन्तिममा ब्याटिङ गर्न आउने भनुवाले ४ खेलबाट ८० रन बनाएका थिए ।
नेपाली खेलाडीको लागि भनुवालाई रोक्न सकेमा जित नजिक पुग्न सजिलो हुन्छ ।
एलिई नाओ
एलिई नाओ राइटआर्म मिडियम फास्ट बलर हुन् । एलिई नाओले ४ खेलबाट ६ विकेट लिईसकेका छन् । त्यस्तै अन्य खेलाडी भनी मोरिया, लेगा सिएका, सेसी बाउ, महुरु दाई र कार्लस अमिनी नेपालको तगारो बन्न सक्छ ।
नेपाल र पपुवा न्युगिनीले अहिलेसम्म ३ पटक प्रतिस्पर्धा गरीसकेका छन् । जसमा तीनै खेल पपुवा न्युगिनीले जितेको छ ।
जसमा पहिलो पटक सन् २००५ मा विश्व क्रिकेट लिग डिभिजन टु छनोटमा प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा पपुवा न्युगिनीले नेपाललाई ७० रनरले पराजित गरेको थियो ।
यसपछि नेपाल र पपुवा न्युगिनीबीचको खेल सन् नोभेम्बर २०१५मा भयो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेलेको थियो । त्यो समय दुबै खेलमा नेपाल पराजित भएको थियो ।
च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा २ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि पपुवा न्युगिनीसँग ३ विकेटले पराजित भएको थियो ।
नेपालसामु विगतको हारको बदला लिँदै एक दिवसीय मान्यता पाउने ठूलो अवसर मिलेको छ । त्यसका लागि नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्नु पर्ने हुन्छ ।
नेपालले जारी प्रतियोगिताको समूह चरणमा ३ खेलमा हार र एक खेलमा मात्रै जित निकाल्यो । पहिलो खेलमा आयोजक जिम्बावेसँग ११६ रनको भारी अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग ४ र तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा हङकङलाइ ५ विकेटले जितेपछि नेपालले एक दिवसीय मान्यता पाउनलाई यथावत राखेको हो ।
प्रतिक्रिया दिनुहोस्