माओवादी नाममा मात्र छ, भाँडो रित्तो भइसक्यो– ओली
काठमाडौँ, चैत २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको भाँडो रित्तिसकेको बताएका छन् ।
ओलीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई जिउमा बसेको माखाँ हम्किने पुच्छरसँग तुलना गरेका छन्। मंगलबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ती दुबै पार्टीको आलोचना गरेका हुन्।
उनले माओवादी केन्द्र अब पार्टी नभएर केन्द्र मात्रै भएको बताए। उनले सो पार्टीका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरिरहेको भन्दै अब सो पार्टी रित्तो भइसकेको बताए।
‘भाँडो रित्तो भइसक्यो। बिर्को मात्रै बाँकी छ’, उनको भनाइ छ। त्यसैगरि ओलीले वामपन्थी भनेको नेकपा एमाले मात्र भएको दाबी गरेका छन् । एमाले सिङ्गल वामपन्थी भएको उनले बताए ।
साथै अध्यक्ष ओलीले नेत्रविक्रम चन्दको पार्टीलाई अघि सारेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल चुनाव सार्ने षड्यन्त्र गरिरहेको बताएका छन् ।
उनले चन्दलाई सहभागी गराउने नाममा कुनै पनि हालतमा चुनाव सार्नु मान्य नहुने चेतावनी दिए । विगतमा विभिन्न बहानामा चुनाव सारिएको उल्लेख गर्दै उनले त्यस्तो अवस्था आए प्रतिवाद गर्ने उल्लेख गरे । उनले देउवा, दाहाल, र नेपालको षड्यन्त्रमा परेर चुनाव नै धकेल्ने खेलमा नलाग्न चन्दसँग आग्रह गरे ।
उनले अहिलेको चुनावमा स्वतन्त्र ढंगले चुनावमा भाग लिन चन्दलाई आग्रह गरे । उनले विप्लवलाई सूर्य चिह्नबाट चुनाव लड्न र जित्न पनि आग्रह गरे ।















प्रतिक्रिया दिनुहोस्