स्थानीय निर्वाचन : कुन दलको घोषणापत्र कहिले ?
काठमाडौं, चैत २७ । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा यति बेला राजनीतिक माहोल निकै नै तातेको छ । निर्वाचन आउन अब ३३ दिन मात्र बाँकी छ ।
१३ दिनपछि मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन तालिका छ । तर एकातिर अधिकांश राजनीतिक दलहरूले पार्टीको नीति तथा कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेका छैनन् ।
एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणापत्र सार्वजनिक गरेका छैनन् ।
घोषणापत्रमा दलहरूका नीति तथा कार्यक्रम समेटिएका हुन्छन् । पार्टीको तर्फबाट निर्वाचनमा होमिएका उम्मेदवार निर्वाचित भएमा सोहीअनुसार पाँच वर्षे स्थानीय सरकार सञ्चालन गर्ने हुन्छ । जहाँ आर्थिक, सामाजिकदेखि भौतिक पूर्वाधार क्षेत्रमा विकासका एजेण्डा समेटिएका हुन्छन् ।
सत्ता नेतृत्व दलसमेत रहेको नेपाली काँग्रेसका प्रवक्ता डा।प्रकाशशरण महतले चैत मसान्तसम्ममा घोषणापत्र तयारीको काम सकिने र ११ वैशाखमा सार्वजनिक गरिने बताए ।
११ वैशाख लोकतन्त्र दिवस हो । लोकतान्त्रिक दल भएका कारण घोषणापत्र सार्वजनिक गर्ने दिन उक्त दिनलाई तोकिएको प्रवक्ता महतले बताएका छन् । उनका अनुसार अहिले महामन्त्री गगनकुमार थापा नेतृत्वको घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरिरहेको छ ।
एमालेले भने काँग्रेसले भन्दा दुई दिनअघि ९ वैशाखमा घोषणापत्र सार्वजनिक गर्ने भएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा रहेको नीति अनुसन्धान प्रतिष्ठानले घोषणापत्र तयारीको काम गरिरहेको छ ।
एकीकृत समाजवादीले पनि घोषणापत्र तयारी गरिरहेको उपाध्यक्ष घनेन्द्र बस्नेतले बताए । मनोनयन अगाडि नै घोषणापत्र सार्वजनिक गरिने उनको भनाइ छ ।
जसपा, राप्रपा, नेमकिपालगायत दलले पनि तयारीको क्रममा रहेकाले घोषणापत्र केही दिनमा सार्वजनिक गर्ने जनाएका छन् ।















प्रतिक्रिया दिनुहोस्