सशस्त्र प्रहरीका आइजीपी प्रतिस्पर्धीहरू एकै जिल्लाका !
काठमाडौं, चैत २६ । सशस्त्र प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल नुवाकोटका हुन् ।
एकै जिल्लाका यी दुवैमध्ये एक जना सोमबारदेखि सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) हुनेछन् । आइतबार आईजीपी शैलेन्द्र खनालको पदावधि सकिँदै छ ।
सोही दिन सरकारले आईजीपीमा केसी र पौडेलमध्ये एक जनालाई नियुक्त गर्नेछ । आईजीपीको लाइनमा रहेका दुई एआईजी र आईजीपी खनाल एकै ब्याजी हुन् ।
एकै पटक उनीहरू प्रहरी नायव उपरीक्षक (डीएसपी) भएपछि २०५८ मा सशस्त्र प्रहरीमा गएका थिए । तत्कालीन नेकपा माओवादीलाई परास्त गर्न भन्दै २०५७ मै सशस्त्र प्रहरी गठन गरेको थियो ।
सोही संगठनमा डीएसपीबाट प्रवेश गरेका खनाल आईजीपको चार वर्षे पदावधि सकेर सेवा निवृत्त हुँदा केसी र पौडेल प्रतिस्पर्धी बनेका हुन् ।
उनीहरू प्रहरी निरीक्षक २०४९ वैशाख १९ गते भएका थिए । ठीक ३० वर्षपछि आईजीपीको प्रतिस्पर्धीमा होमिएका छन् ।
२०६१ साल वैशाखमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी), २०६६ साल मंसिरमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), २०६९ जेठमा सशस्त्र प्रहरी महानिरीक्षक (डीआईजी) र २०७४ वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएका हुन् ।
हाल एआईजी केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख छन् । अर्का एआईजी पौडेल भने प्रशासन तथा मानव स्रोत विभाग प्रमुख छन् ।
प्रतिक्रिया दिनुहोस्