पहाड र हिमालमा पनि सिँचाइ आयोजना बनाउनुपर्छ : मन्त्री भुसाल
काठमाडौं, चैत २५ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आगामी दिनमा पहाडी र हिमाली भेगमा सिँचाइका आयोजनाहरु बनाउनुपर्ने बताएकी छन् ।
शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु देशको पहाडी र हिमाली भागमा केन्द्रीत गर्नुपर्ने बताएकी हुन् ।
राष्ट्रिय गौरवका आयोजनाहरु तराई केन्द्रीत भएको उल्लेख गर्दै उनले खेतियोग्य जमिन पहाड र हिमालमा पनि भएकाले सो भेगमा सिँचाइ सुविधा पु¥याउने गरी आगामी दिनमा नीति तथा योजना तर्जुमा गर्नुपर्ने उनको धारणा छ ।
‘हाम्रो सबै राष्ट्रिय गौरवलगायतका आयोजनाहरु तराई केन्द्रीत छन् । तर उर्वर जमिन पहाडमा पनि छ । हिमाली भेगमा पनि छ । हामीले त्यसलाई पनि सम्बोधन गर्ने नीति, योजना, कार्यक्रम ल्याउनुपर्छ भन्ने मेरो अनुभुतिको विषय हो’, मन्त्री भुसालले भनिन्, ‘अब हामीले सिँचाइको आयोजना बनाउँदा त्यो पहाडको सिँचाइ, हिमाली भेगका जग्गा जमिनमा सिँचाइको व्यवस्था पु¥याउँ ।’
पहाडी र हिमाली भेगमा सिँचाइ पु¥याउन सके खाद्यान्न उत्पादनमा वृद्धि भएर आत्मनिर्भर हुन सकिने मन्त्री भुसालले बताइन् । मन्त्री भुसालले देशमा आर्थिक तरलताको स्थिति भएपनि आर्थिक संकट भने नरहेको बताइन् । उनले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको बताइन् ।
आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुहरुको प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । उनले कृषिमा आत्मनिर्भर, पर्यटन र जलविद्युतको विकास भएमात्र देशमा आर्थिक समृद्धि हुने बताइन् ।
प्रतिक्रिया दिनुहोस्