गौचनको हत्यारालाई तत्काल कारबाही गर्न महासंघको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई तत्काल कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ ।

महासंघका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासंग प्रधानमन्त्री निवास बालुवाटारमा भेटगरि गौचनलाई शहीद घोषणा , हत्याराको तत्काल खोजी गरि कारबाही गर्न र निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन माग गरेका हुन् ।

गौचनको हत्याका साथै अन्य पदाधिकारीलाई विभिन्न फोन नम्बरबाट धम्की दिने प्रवृत्तिले असुरक्षा भएको भन्दै सुरक्षा प्रबन्ध मिलाउन महासंघले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीको सुरक्षा दिन सरकार तयार रहेकाले हतोत्साहित नहुन व्यवसायीलाई आग्रह गर्नुभएको जानकारी प्राप्त भएको छ ।

महासंघले अध्यक्ष गौचनको निधनको शोकमा तीन दिन निर्माणका सबै काम बन्द गर्ने निर्णय गरेको छ । सोमबार महासंघको कार्यालयमा बसेको आकस्मिक बैठकले अनिश्चितकालका लागि बोलपत्रमा सहभागी नहुने निर्णय समेत गरेको छ ।

घटनाका दोषी पत्ता नलगाएसम्म शव नबुझ्नेसमेत महासंघले जानकारी दियो । गौचनको शव अहिले परीक्षण लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्