मैत्रीपूर्ण खेलमा नेपाली फुटसल टोली पराजित
काठमाडौं , चैत २४ । नेपाली राष्ट्रिय फुटसल टोली बिहीबार मैत्रीपूर्ण खेलमा कीर्गिस्तानको क्लब डर्डोइसँग ३–१ ले पराजित भएको छ ।
नेपालले छैटौँ मिनेटमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । नेपालका विजय श्रेष्ठले गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा डर्डोइका अरापोभ कुबातले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा डर्डोइले दुई गोल थप्यो । दोस्रो गोल एन्डाबिकोध र तेस्रो गोल खेलको अन्तिम समयमा सुलिमानुभ ऐदरले गरेका थिए । कीर्गिस्तानको पुरानो मध्येको क्लब डर्डोइले यसअघिको मैत्रीपूर्ण खेलमा ताजकिस्तानलाई हराएको थियो ।
यता नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले मैत्रीपूर्ण खेल उपलब्धिमूलक भएको बताए । उनले आगामी दिनमा नतिजा सुधार्न यस खेलले महत्वपूर्ण योगदान पुर्याउने बताए ।
नेपालले एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताअन्तर्गत यही चैत २७ गते उज्वेकिस्तान, चैत २८ गते ताजकिस्तान र चैत २९ गते अफगानिस्तानविरुद्ध खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्