अभिनेता पल शाहविरुद्ध थुनछेक बहस शुरु, आजै फैसला आउने

काठमाडौं, चैत २३ । एक नाबालिग गायिका बलात्कारको अभियोगमा जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दायर गरिएका अभिनेता पल शाहविरुद्धको मुद्दामा थुनछेक बहस शुरु भएको छ । जिल्ला अदालत पूर्वी नवलपरासीमा बुधबार पीडित किशोरीका तर्फबाट तीन जना सरकारी वकिलले बहस गरेका छन् ।

सरकारी वकिल कमलपन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको किटानी जाहेरीका आधारमा शाहलाई हदैसम्मको कैद सजाय हुनुपर्ने माग गरेका हुन् । तीन जना सरकारी वकिलले किशोरीको माग दाबीबमोजिम १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन् ।

बुधबार दिउँसो १ बजे सरकारी वकिलको बहस सकिएको छ भने सवा १ बजेपछि अभियुक्त शाहका तर्फबाट ९ जना वकिलले बहस शुरु गरेका छन् । प्रतिवादी शाहको पक्षबाट बहस गरेका वकिलहरूले किशोरीले शाहलाई झुठो आरोप लगाएर फसाउन खोजेको दाबी गरेका छन् । ‘शाहलाई कीर्ते गरेर फसाउन खोजिएको छ । शाह निर्दोष छन्‚’ अधिवक्ता गणेश अधिकारीले भने । बहसका क्रममा उनले बिना प्रमाण झूठा आरोप लगाएर शाहलाई फसाउन खोज्ने नियत देखिएकाले उनलाई रिहा गर्न समेत माग गरे ।

जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार शाहका पक्षबाट ९ जना अधिवक्ताले बहस गर्नेछन् । बुधबार साँझसम्म शाहलाई रिहा गर्ने वा थुनामा राखेर अनुसन्धान अघि बढाउने भन्ने फैसला आउने बताइएको छ । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार अदालतमा ल्याएर बयान लिइएको थियो ।

जिल्ला अदालतका सूचना अधिकारी क्षेत्रीका अनुसार शाहविरुद्ध एक नाबालिग गायिकाले अघिल्लो महिना दर्ता गरेको जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालतमा बयान लिइएको हो । उनको बयान मंगलबार सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्