सञ्चालनमा आयो चोभार सुक्खा बन्दरगाह , प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं, चैत २२ । चोभारमा निर्मित सुक्खा बन्दरगाह सञ्चालनमा आएको छ ।

आज प्रधानमन्त्री शेर बहादुर देउवाले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन्।गत साउनमै भौतिक संरचना सकिए पनि कर्मचारी, भन्सार, बैंक लगायतका कार्यालयको व्यवस्थापनसँगै आजदेखि बन्दरगाह सञ्चालनमा आएको हो।

बन्दरगाहमा निर्मित स्तम्भ अनावरण गर्दै वीरगन्जबाट आएका मालवाहक गाडीको प्रवेश गराएर बन्दरगाहको उद्घाटन गरिएको छ ।

अब काठमाडौं आएका मालवाहक गाडी सिधै यो बन्दरगाहमा जाँचपास हुनेछन् । ०७५ माघमा शिलान्यास भएको सुक्खा बन्दरगाह १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

तर, कोभिड–१९ का कारण निर्माण प्रभावित भए पनि निर्माण सम्पन्न भएको नौ महिनापछि मात्रै बन्दरगाह सञ्चालनमा आएको हो । निर्माण गएको असारमै सम्पन्न भएको थियो ।

नेपाल आयात हुने वस्तुमा आधाभन्दा बढी काठमाडौं उपत्यकामा खपत हुँदा चोभार सुख्खा बन्दरगाहको उपयोगिता बढ्ने सरकारको विश्वास छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले ५ सय ट्रक र ५ सय कन्टेनरको लागि पूर्वाधार निर्माण भएको बताए।

गजुरेलले विश्व बैंकको सहयोगमा १ अर्ब ५४ करोड लागतमा बन्दरगाह तयार भएको जानकारी दिए। उनले बढ्दै गएको वैदेशिक व्यापारमा बन्दरगाहले सहयोग पुग्ने बताए।

यातायात विकास समिति र भन्सार विभागको संयुक्त सहकार्यमा सञ्चालनमा ल्याउने तयारी भइरहेको हुनाले आयातकर्ता तथा निर्यातकर्तालाई सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्