उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथद्वारा देउवासँग शिष्टाचार भेटवार्ता, प्रधानमन्त्री आजै स्वदेश फर्कने

काठमाडौं, चैत २० ।  भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान बनारस पुगेका प्रधानमन्त्री देउवासँग योगीले भेटेका हुन्

प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास

भारतको तीन दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् ।

सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो । नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।

यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज यहाँ दिवाभोजको आयोजना गरेका छन् । त्यसअघि उनीहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । भारत भ्रमण पुरा गरी प्रधानमन्त्री देउवा आजै बेलुकी स्वदेश फर्किदै छन् ।

प्रतिक्रिया दिनुहोस्